२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


विश्वका सुन्दर शहर मध्येको काठमाडौं अहिले अस्तव्यस्त (भिडियो)


0
Shares

-प्रतिक्षा खनाल र भरत केसी(ईमेज)

काठमाडौं । कुनै समय विश्वका सुन्दर शहरमा पर्ने काठमाडौं पछिल्लो समय अव्यवस्थाको पर्याय बन्दै गएको छ ।

भौगोलिक, साँस्कृतिक र पुरातात्विक महत्वले भरिपूर्ण शहर भएर पनि अव्यवस्थित सडक र वस्ती, तथा प्रदूषित वातावरण र सार्वजनिक स्थानको दुरावस्थाले अस्तव्यस्त बनेको हो ।

केही समयअघि एउटा विदेशी सर्वेक्षणले काठमाडौंलाई संसारभरका घुम्नलायक शहरहरुको सुचीमा पाँचौं स्थानमा सुचीकृत ग¥यो ।

थोरै भुभाग ओगटे पनि काठमाडौंमा प्रचुर प्राकृतिक र साँस्कृतिक विविधता भएकाले काठमाडौंलाई घुम्नलायक शहरको सूचिमा राखिएको हो ।

तर काठमाडौंका बासिन्दा तथा आगन्तुकहरु भने यहाँको अब्यवस्था र अस्तव्यस्त अवस्था भोग्न बाध्य छन् ।

धुँवा धुलो नियती नै बन्दै गएको काठमाडौंमा त्यस बाहेकका आधारभूत सुविधाहरुको अभाव पनि उत्तिकै खड्किने विषय हुन् ।

महानगरवासीहरुले खानेपानी, सार्वजनिक यातायात, सार्वजनिक शौचालयको भयावह समस्या बर्षाैंदेखि भोग्दै आएका छन् भने अव्यवस्थित शहरीकरणका कारण खुला स्थानको अभाव पनि विकराल बन्दै छ ।

सडकहरु धुलाम्य मात्रै छैनन् पैदल यात्रीका लागि फुटपाथ भेट्न मुस्किल छ , बेतोडले हुईकिने सार्वजनिक यातायातका निश्चित स्टेशन छैनन ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई स्मार्ट सिटी बनाउने घोषणा त गरे ।

तर आधारभूत सुविधा नै अस्तब्यस्त अवस्थाका रहेको महानगरलाई स्मार्ट सिटी बनाउने कुरा कोरा कल्पना जस्तो बनेको छ ।

शहर व्यवस्थित हुनका लागी सडक सञ्जाल, बस्ती व्यवस्थापन, स्वच्छ वातावरण लगायतका आधारभूत व्यवस्था हुनुपर्ने शहरी बिकास मन्त्रालयका पूर्वसचिव किशोर थापा बताउँछन् ।

सरकारी स्वामित्वको जग्गाहरुको निरन्तर अतिक्रमणले विपद्का बेला आवश्यक पर्ने खुला ठाँउको समेत समस्या हुने देखिदैछ ।

दिनदिनै बढ्दो जनसङख्याको चापले शहरको फोहोर व्यवस्थापनको चुनौती पनि चुलिदै छ ।