१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024


६० हजार बालबालिका अझै विद्यालयको पहुँचबाट बाहिरै, यस्तो छ सरकारी तयारी (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, असार २० । सरकारले बालबालिकालाई विद्यालय भर्ना गराउने अभियान वर्षभरि नै सन्चालन गर्ने तयारी गरेको छ ।

गत वैशाख १ गतेदेखि पहिलो चरणको भर्ना अभियान सुरु गरेको सरकारले अभियान प्रभावकारी हुन नसकेको ठहर गर्दै दोस्रो चरणका लागि आगामी भदौ मसान्तसम्म म्याद थप गरेको छ ।

विद्यालय भर्ना हुन बाँकी अझै धेरै बालबालिका रहेकाले वर्षभरि नै विद्यालय भर्ना अभियान चलाउने तयारी सरकारले गरेको हो ।

गत वर्षसम्म ३ लाख १३ हजार २८७ बालबालिका विद्यालय जानबाट बन्चित हुँदै आएका थिए ।

सरकारले भर्ना अभियान सन्चालन गरेपछि हालसम्म २ लाख ५३ हजार २८७ जना बालबालिका विद्यालयमा भर्ना भइसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख १ गते भर्ना अभियान सुरु गरेका थिए ।

भर्ना अभियानमा प्रधानमन्त्रीले नै अग्रसरता देखाएपछि अधिकांश राजनीतिक दलका नेतादेखि समाजसेवी, कलाकार, व्यवसायीले पनि त्यसमा साथ दिएका थिए ।

तर, अझै धेरै बालबालिका विद्यालयबाहिरै रहेकाले यो अभियान वर्षभरि सन्चालन गर्ने तयारी भइरहेको शिक्षा विभागले जनाएको छ ।

संविधानले अनिवार्य शिक्षालाई मौलिक हककारुपमा राखेको छ  । जसअनुसार सरकारले यस वर्ष नै सबै बालबालिकालाई विद्यालय पुर्‍याउने योजना बनाएको हो । तर, अझै ६० हजार बालबालिका विद्यालयबाहिर नै रहेको शिक्षा विभागले जनाएको छ ।

विभागले भने घरधुरी सर्वेक्षण गरेर नै यस वर्ष सबै बालबालिकालाई विद्यालय लैजाने तयारी गरेको छ ।

सरकारले वि.सं. २०६१ सालदेखि हरेक वर्ष विद्यार्थी भर्ना अभियान सन्चालन गर्दै आएको छ । तर, कुनैपनि अभियान प्रभावकारी हुन सकेका छैनन् ।

विद्यालयमा भर्ना भएका कतिपय बालबालिका बीचैमा पढाइ छाडेर हिँड्ने गरेका छन् ।

कक्षा–१ मा भर्ना भएका विद्यार्थी १० कक्षासम्म पुग्दा आधाजसो घटिसकेको सरकारी तथ्यांकले नै देखाउने गरेको छ ।

भिडियो हेर्नुहोस्