३० असार २०८२, सोमबार | Tue Jul 15 2025


एकाधिकार तोड्दै भोलिबाट चल्ने भो भक्तपुरमा साझाबस


0
Shares

भक्तपुरमा बस सञ्चालन गर्नेे साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर सफल भएको हो । उक्त यातायातले काठमाडौंको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म भोलि बिहान ६ः३० बजेदेखि २० वटा बस सञ्चालनमा ल्याउने भएको साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिए ।

पाण्डेले भने,–‘भोलि बिहान ६ः३० बजे पुल्चोकबाट भक्तपुरका लागि पहिलो साझाबस छुट्नेछ, प्रत्येक दिन बिहान ६ः३० देखि राति ९ बजेसम्म बस चल्नेछ ।’ साझा यातायातले काठमाडौंको स्वयम्भूबाट कलंकी, रविभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, थापाथली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, मीनभवन, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशल्टार, गठ्ठाघर, नयाँठिमी, राधेराधे, सृजनानगर, सल्लाघारी हुँदै सूर्यविनायकसम्म जाने र फर्कने रुट निर्धारण गरेर बस सञ्चालन गर्न लागेको उनले बताए ।

सूर्यविनायकबाट फर्कने क्रममा भने केही रुट परिवर्तन गरिएको छ । फर्कंदा भक्तपुरबाट माइतीघर पुरानै रुटअनुसार आउने र त्यहाँबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घन्टाघर, पुरानो बसपार्क, सहिदगेट, त्रिपुरेश्वर, कलंकी हुँदै स्वयम्भू पुग्ने प्रमुख कार्यकारी निर्देशक पाण्डेले बताए ।

स्वयम्भूबाट भक्तपुरसम्म पुगेको बस भाडा भने साझाले रु २५ मात्रै निर्धारण गरेको छ । साझाको उपत्यकामा सञ्चालनमा रहेका ४४ वटा बसलाई व्यवस्थापन गरेर भक्तपुरसम्म लैजान लागेको उनले बताए ।

साझाले भक्तपुरको नयाँबाटो र पुरानो बाटोगरी दुवै रुटमा बस सञ्चालनका लागि अनुमति माग गरेपनि यातायात व्यवस्था विभागले भने नयाँ रुटमा मात्रै बस सञ्चालन गर्ने अनुमति दिएको पाण्डेले बताए ।

कार्यकारी निर्देशक पाण्डेले भने,–‘पहिलो चरणमा भक्तपुरको नयाँ बाटोमा मात्रै अनुमति पाएका छौँ, यहाँ २० वटा बस सञ्चालन गर्नेछौँ, विभागले पुरानो बाटोका लागि पनि अनुमति दिएलगत्तै दुईवटै रुटमा साझाका बस सञ्चालन गर्छौं ।’

साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, निकोसेरा, ब्यासी हुँदै कमलविनायक भएर नयाँ बाटो हुँदै फर्किने गरी रुट मागेपनि हाललाई त्यो रुट भने पाउन सकेन ।

साझाका ४६ बसमध्ये हाल दुईवटा बस लामो दूरीमा सञ्चालन गरेपनि लामो दूरीका लागि बस थप्न १२ वटा नयाँ डिलक्स बस खरिद प्रक्रियामा अगाडि बढाएको उनले बताए । रासस