
ट्रम्पको चुनावी अभियानबारे रुसी साँठगाँठसम्बन्धमा एफबीआई अनुसन्धान रोक्न राष्ट्रपतिले आफूलाई भनेको कोमीले सिनेटसमक्ष दिएको बयान असत्य रहेको ट्रम्पको जिकीर छ । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले कोमीसँग बफादारी र आफ्ना पूर्व सल्लाहकारमाथि छानविन रोक्न खोजेको भन्ने आरोप मिथ्या रहेको बताए ।
कोमीले बयानका क्रममा रुससम्बन्धी छानविनकै विषयमा राष्ट्रपतिले आफूलाई बर्खास्त गरेको बताएका थिए । गत वर्षको अमेरिकी चुनावमा ट्रम्पलाई जिताउन क्रेमलिनले षडयन्त्र गरेको भन्ने आरोपबारे एफबीआईका पूर्व निर्देशक कोमीले छानविन गरिरहेकै बेला ट्रम्पले उनलाई हटाएका थिए ।
संसदीय समितिसमक्ष कोमीले राष्ट्रपतिले आफूलाई ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनमाथिको छानविन रोक्न भनेको जिकिर पनि गरे । फ्लिनलाई मस्कोका राजदूतसँग गरेका कुराकानीबारे ह्वाइट हाउसलाई गलत जानकारी दिएको आरोपमा पदबाट हटाइएको थियो ।
यही प्रकरणमा अमेरिकी संसदको तल्लो सदनको एक गुप्तचरसम्बन्धी समितिले ह्वाइट हाउसलाई राष्ट्रपति ट्रम्प र कोमीबीच भएका कुराकानीको रेकर्ड उपलब्ध गराउन निर्देशन दिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्