Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


गोरखशम्शेरले जिते परेवा उडानको उपाधि


0
Shares

राणाका कुल पाँचओटा परेवाले २८ घन्टा ८ मिनेट उडान गरेपछि उनी उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन् ।

नेपाल परेवा उडान खेल संघको आयोजनामा हालै सम्पन्न प्रतियोगितामा ठमेलकै रविन्द्र महर्जनले कुल २१ घन्टा ४३ मिनेट परेवा उडाएर दोस्रो स्थान हासिल गरे भने ठमेलकै पुष्प महर्जन २१ घन्टा ३१ मिनेट परेवा उडाएर तेस्रो भए ।

प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका गरी ३७ जना प्रतियोगी सहभागी भएका थिए ।

त्यस्तै, चार लाख मूल्य बराबरको केयुर रनिङ शिल्डको उपाधि यो वर्ष गोरखशम्शेरले नै हात पारेका छन् ।

यसअघि भक्तपुर, कौशलटारका विनोद कुटु, भक्तपुरकै मधु घिमिरे र गोरखशम्शेरले एक/एकपटक केयुर रनिङ शिल्डको उपाधि जितिसकेका छन् । यो शिल्ड आफूसँगै राख्न प्रतियोगीले तीन वर्ष उपाधि जित्नुपर्ने हुन्छ ।

यस्तै, गर्त वर्षबाट राखिएको विष्णुभक्त श्रेष्ठ उत्कृष्ट रनिङ शिल्डको उपाधि यो वर्ष भक्तपुर, बोडेका सन्जय था श्रेष्ठले हात पारेका छन् । उत्कृष्ट परेवाको उपाधि पनि यो वर्ष सन्जयले नै जितेका छन् । उनको चिनी परेवा ८ घन्टा ३९ मिनट उडेको थियो ।

संघले प्रदान गर्ने कदरपत्र भने यो वर्ष संघका कोषध्यक्ष उज्जवल रिमाललाई प्रदान गरिएको छ ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टले विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा यो वर्ष टाउके, चिनी, तुनियाँ, कास्नी, काभरालगायत जातका परेवाहरु उडाइएको थियो ।