३० असार २०८२, सोमबार | Mon Jul 14 2025


सावधान ! मोबाइलमा ज्यान नै लिने गेम त खेलिरहेका छैनन् बालबालिका ?


0
Shares

पश्चिमी मुम्बईको अन्धेरीमा बस्दै आएका मनप्रितले शनिबार घरको छतबाट हामफालेर आत्महत्या गरेका थिए । उनको आत्महत्याको प्रष्ट कारणबारे प्रहरी कुनै नतिजामा पुगेको छैन तर उनका साथीहरु भने उक्त अनलाइन गेमलाई नै जिम्मेवार मानिरहेका छन् ।

केही साथीका अनुसार मनप्रितले केही दिनदेखि ब्लू ह्वेल च्यालेन्ज गेमको कुरा गर्दै आएका थिए । प्रहरीले सबै सम्भावनामाथि अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार मनप्रितको फोन र अन्य उपकरणबारे अनुसन्धान भइरहेको छ । तर उनको आत्महत्यालगत्तै सामाजिक संजालमा अनलाइन गेमका बारेमा चर्चा सुरु भएको छ ।

के हो ब्लू ह्वेल गेम ?

अनलाइनमा खेलिने यो गेमको सुरुवात रुसबाट भएको हो । मोबाइल, ल्यापटप या डेक्सटपबाट खेलिने यो गेममा प्रतियोगीलाई ५० दिनमा ५० अलग–अलग काम दिइन्छ । प्रत्येक काम पुरा गरेपछि हातमा एउटा निशान बनाउन भनिन्छ । खेलको अन्तिम चरणमा आत्महत्याको ‘टास्क’ हुन्छ ।

भारतमा हालै यो गेम चर्चामा आएको भए पनि यो गेमका कारण विश्वमा कयौंले आत्महत्या गरिसकेका छन् । गेम बनाउने फिलिप नाम गरेका युवालाई गिरफ्तार गरिसकिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार रुस, अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, चीन, जर्जिया, इटली, केन्या, पराग्वे, पोर्चुगल, साउदी अरब, स्पेन, अमेरिका, उरुग्वे लगायतमा देशमा बालबालिकाले यही गेमका कारण आफ्नो ज्यान गुमाइसकेका छन् ।

इन्टरनेटमा गेम खेल्ने बालबालिकाहरु यस्तो खतरनाक गेमको चपेटामा आउन सक्ने भएकाले अभिभावकहरुले आफ्ना बालबालिकाले मोबाइल, ल्यापटप तथा डेक्सटपमा के गर्दैछन् भन्ने निगरानी गर्नुपर्ने विज्ञहरुको भनाइ छ । (एजेन्सी)