७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


राष्ट्रपति ट्रम्प लामो बिदामा बस्ने निर्णयपछि अमेरिकामा हंगामा


0
Shares

ह्वाइट हाउसले कामकाजी बिदा अन्तर्गत राष्ट्रपति ट्रम्पले अगष्ट महिनामा १७ दिन न्यू जर्सी बेडमिन्स्टरस्थित उनको निजी गल्फ क्लबमा बिताउने बीबीसीले उल्लेख गरेको छ ।

काम गर्दा कहिल्यै नथाक्ने बताउँदै आएका राष्ट्रपति ट्रम्पले पहिलो वर्षमै ओबामाले लिएभन्दा करिव दुई गुणा बढी बिदा लिएको भन्दै आलोचकहरुले सामाजिक सन्जालहरुमा ट्रम्पप्रति तीब्र आलोचना गर्दै व्यंग्य गरिरहेका छन् ।

उनले चुनावी अभियानका क्रममा ओबामाप्रति व्यंग्य गर्दै भनेका थिए, “म तपाईँहरुसँगै काम गर्नेछु, मसँग गल्फ खेल्नका लागि समय हुनेछैन ।’ 

ओबामासँग तुलना गर्ने हो भने यसअघि ट्रम्प ११ दिन बिदामा बसिसकेका छन् ।

सन् २००४ मा प्रकाशित एउटा पुस्तक ’थिङ्क लाइक अ बिलियनिअर’ मा उनले सुझाव दिदैँ लेखेका थिए, ‘लामो बिदामा नबस्नुस, त्यस्को अर्थ के नै छ र ? यदि तपाईं आफ्नो काममा रमाइरहनुभएको छैन् भने तपाईं गलत काममा हुनुहुन्छ ।’ 

त्यसैगरी, सन् २००८ मा छापिएको पुस्तक ’द अडासिटि अफ होप’मा उनले लामो बिदा लिनु नहुने भन्ने धारणा राखेपछि ओबामालाई ’पाखण्डी’ भन्दै आलोचनासमेत गरेका थिए ।

लामो बिदाको विरोध गर्दै आएका राष्ट्रपति ट्रम्पले आँफै ‘दुधको साक्षी बिरालो’ झैँ भएका छन् ।

अमेरिकी अखबार ‘न्युजविक’ले मूख्य पृष्ठमा राष्ट्रपति ट्रम्प आरामले सोफामा बसिरहेको एउटा व्यंग्य तस्वीर छाप्दै उनलाई ‘अल्छी केटाको’ संज्ञा दिँदै लेखेको छ, ‘अनुमान लगाउनुहोस त उनलाई केही नगरी बस्दा कति गाह्रो महसुस हुन्छ होला ।’

तर, ह्वाइट हाउसमा जारी मर्मतको सम्भारको कामसँग राष्ट्रपति ट्रम्पको निर्णयलाई जोडेर हेरिएको छ ।

राष्ट्रपति भवनको वेस्ट विंग क्षेत्रमा बस्ने सबै कर्मचारीहरुलाई भवन मर्मतको सम्भारको लागि बिदा दिइएको ह्वाइट हाउसकी प्रवक्ता लिन्डसे वाल्टर्सले बताएकी छन् ।

त्यस्तै, कार्यकारी भवनका रंगरोगन, कार्पेट र पर्दा फेर्ने जस्ता कार्यहरु हुन लागेको बताइएकोे छ ।

आगामी अगष्ट २० तारिखसम्म बिदा भ्रमणको क्रममा स्थानीय विमानस्थल बन्द गरिने, ११० ओटा विमानको उडान अवरुद्ध हुने र ६० ओटा विमान उडानका कक्षाहरु प्रभावित हुने जनाइएको छ ।

साथै, अमेरिकी गुप्तचर निकायले सुरक्षाका लागि मानवरहित विमान ’ड्रोन’ को प्रयोग गर्ने आवश्यक परे राष्ट्रपतिको सवारी हुँदा पुरै बाटो खाली गराउन सकिने पनि जनाइएको छ ।