१२ आश्विन २०८०, शुक्रबार | Sat Sep 30 2023


नरैनापुरको नेपालगन्जसँग सडक सम्पर्क टुट्यो


0
Shares

नेपालगन्ज, असार १८ । अविरल वर्षाका कारण राप्तीपारि नरैनापुर गाउँपालिकाको नेपालगन्जसँग सडक सम्पर्क टुटेको छ ।

आइतबार रातिदेखि परेको वर्षाका कारण सडक पूरै अवरुद्ध भएको छ । निर्माणाधीन हुलाकी सडक निर्माणकाक्रममा लापरबाही गर्दा आवत–जावत प्रभावित भएको हो ।

पुल निर्माणको काममा ढिलाइ हुँदा उचित डाइभर्सनको अभाव भएर आइतबार रातिदेखि आवत–जावत ठप्प भएको हो ।

‘ठाउँठाउँमा पुल बनिरहेका छन् । तर, पुल बनाउनुअघि डाइभर्सन बनाउनुपर्ने मापदन्डलाई बेवास्ता गरिएकाले अहिले पानी पर्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ’–गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आक्रोश पोखे ।

वर्षायाममा यस्तै अवस्था हुन्छ भनेर आफूले पहिल्यैदेखि नै हुलाकी सडक आयोजना प्रमुख, ठेकेदार र प्रमुख जिल्ला अधिकारीलाई सचेत गराउँदै आएको भएपनि सुनुवाइ नहुँदा यो अवस्था आएको उनले बताए ।

‘अब न भारततिर जानसक्ने अवस्था छ, न नेपालगन्ज आउने अवस्था छ । आफ्नो २ नम्बर वडामा रहेको घरबाट गाउँपालिका कार्यालय पनि जान सकिरहेको छैन’–अध्यक्ष शाहले भने ।

यस सम्बन्धमा रासससँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले अस्थायी भएपनि नेपालगन्जसँग नरैनापुर क्षेत्रको सडक सम्पर्क जोड्न निर्माण कम्पनी र आयोजना कार्यालयमा निर्देशन दिएको बताए ।

यसैगरी, मनसुन सुरु भएसँगै बाँके जिल्ला विपद् व्यवस्थापन समितिअन्तर्गत्का कलस्टर समूहलाई उच्च सतर्कताको स्थितिमा राखिएको पनि उनले बताए ।

भारतले अन्तर्राष्ट्रिय नियमविपरीत बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रनजिक बनाएको लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनि त्यहाँका गाउँ डुबानमा पर्ने गरेका छन् ।

घर डुबानमा

अविरल वर्षापछि बाँके जिल्ला कट्कुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुरका करिब ६० घर डुबानमा परेका छन् । पानीको सहज निकास नभएका कारण घर डुबानमा परेका हुन् ।

डुबानमा परेका घरका सदस्यको उचित राहतका लागि स्थानीय प्रशासन कार्यालयले अहिले उच्च सतर्कताका साथ काम गरिरहेको प्रजिअ केसीले बताए ।

कार्यालयले पानी अझैपर्ने सम्भावना रहेकाले विभिन्न नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रहसमेत गरेको छ । रासस