२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ट्याक्सी चढेर लुट्ने लुटेरा पक्राउ, गुड्दा–गुड्दै मोटरसाइकलमा आगलागी


0
Shares

चालक लुटेर फरार भएका मोरङ उर्लाबारी घर भई हाल काभ्रे बनेपा बस्ने वर्ष २६ को माधवराज गौतमलाई चालकसँग लुटेको सामानमध्ये नगद रु पाँच हजार ९७०, चाँदीको सिक्रीसहित भाग्दै गर्दा खरिपाटी प्रहरी प्रभागबाट खटिएर गएका प्रहरीले आज पक्राउ गरेका छन् ।

पक्राउ परेकालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको र फरार रहेको अर्का एकजनाको खोजी जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

काठमाडौं महानगरपालिका–७ बस्ने वर्ष २६ को सुमन दंगालले चलाएको बा २ ख १२४९ नम्बरको ट्याक्सी चढेर आज बिहान काठमाडाँं कुमारीगालबाट नगरकोट जाने भन्दै आएका दुई लुटेराले चाँगुनारायण नगरपालिका मुहानपोखरी नजिकै चालकको साथमा रहेको नगद रु पाँच हजार ९७०, चाँदीको सिक्री एकथान, सामसुङ मोबाइल थान एकथान र सुनको मुन्द्रा लुटपाट गरी फरार भएपछि प्रहरीले लुटेराको खोजी गरेको थियो ।

गुड्दा–गुड्दै मोटरसाइकलमा आगलागी

यसैगरी, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङमा शुक्रबार (आज) गुड्दा–गुड्दैको मोटरसाइकल अचानक आगलागी भएको छ ।

बा ८४ प ८८९७ नम्बरको पल्सर मोटरसाइकल चढेर अजय हाकुजू घरतर्फ जाँदै गर्दा गुडिरहेकै मोटरसाइकलमा अचानक आगो लागेको हाकुजूले बताए ।

स्थानीय प्रत्यक्षदर्शी जयराम दथेपुथेले गुडिरहेको मोटरसाइक अचानक आगोलागी भएपछि हाकुजू उफ्रिएर खेतमा खसेपछि मानवीय क्षति भने नभएको बताए । मोटरसाइकल जलेर पूर्णरुपमा क्षति भएको छ । रासस