
सिन्धुलीमाढी, २ नम्बर बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको ज्यान गएको हो ।
शनिबार बिहान करिब २ बजे घरमाथिबाट आएको पहिरोले पुरिएर मृत्यु हुनेमा खड्काकी ३७ वर्षीया श्रीमती दुर्गाकुमार, १५ वर्षीया छोरी शोभा तथा छोरा १० वर्षीया अनिष र ८ वर्षीय मनिष रहेको पारिवारिक स्रोतले जनाएको छ ।
सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने खड्काको परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा घर बनाएर बसेको थियो ।
जिल्ला प्रहरी कार्यालयको आवासीय भवननजिकैबाट झरेको पहिरोले घर पुरिएको थियो ।
राति २ बजेतिर पहिरोले घर भत्काएपछि आफू भागेर बाँच्न सफल भएको तर राति हारगुहार गर्दा उद्धार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको खड्काले बताए ।
‘राति २ बजेतिर पहिरो आएछ । म ढोकाको छेउमा सुतेको थिएँ । श्रीमती र छोराछोरी भित्तापट्टि सुतेका थिए । पहिरो आउनासाथ म भागें, उनीहरु भाग्न भ्याएनन् । राति २ बजेदेखि चिच्याएँ, ठूलो पानी परेकाले कोहीले थाहा पाएनन् क्यार, करिब ४ बजेतिर छिमेकीले प्रहरीमा खबर गरिदिए’–खड्काले भने ।
पहिरोमा परेकाहरुलाई ढिलो उद्धार गर्दा ज्यान गइसकेको थियो । शव सिन्धुली अस्पतालमा राखिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार प्रयास गरेको थियो ।
राति परेको अविरल वर्षाको कारण अन्य क्षेत्रबाट भने कुनै क्षति विवरण अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्