Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


इङ्ल्याण्डका चर्चित फुटबलर वायने रुनीद्वारा सन्यास


0
Shares

३१ वर्षीय रुनीले इङ्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटको अनुरोधलाई समेत अस्वीकार गर्दै सन्यासको घोषणा गरेका हुन् । प्रशिक्षक गारेथले रुनीलाई विश्वकप छनौट चरणअन्तर्गत आगामी महिना माल्टा र स्लोभाकियाविरुद्धको म्याच खेल्न आग्रह गरेका थिए ।

‘प्रशिक्षक गारेथले मलाई यसै साता बालाउनु भएको थियो, उहाँले मलाई इङ्ल्याण्डको टिममा फेरि लिन चाहनु भएको थियो । म उहाँको प्रशंसा गर्दछु,’ रुनीले भनेका छन्, ‘यो मेरालागि निकै कठिन निर्णय हो, मैले आफ्नो परिवार, एभर्टनमा मेरो म्यानेजर र मेरा निकटम मित्रहरुसँग यसबारे सल्लाह गरेँ ।’

हालै इङ्लिस क्लव एभर्टनमा सामेल भएका रुनीले भने, ‘मलाई जहिले पनि एक खेलाडी वा कप्तानका रुपमा चुनियो, त्यतिबेला मैले आफूलाई भाग्यशाली ठानेँ । म उहाँहरु सबैप्रति धन्यवाद दिन चाहन्छु, जसले मलाई सहयोग गर्नुभयो ।’

उनले इङ्ल्याण्डका लागि खेल्नु सदैव आफ्नो लागि विशेष रहेको जनाउँदै भने, ‘तर मेरो विचारमा यो बिदा लिने समय हो ।’

उनले ११९ अन्तर्राष्ट्रिय म्याचमा आफ्नो देशका लागि ५३ गोल गरेका छन् । उनले सन् २००३ मा अस्ट्रेलियाविरुद्धको खेलमा इङ्ल्याण्डका तर्फबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

व्यावसायिक फुटबलमा भने उनी अझै सक्रिय नै रहनेछन् ।