
एक वर्षअघि सबै प्रकारका कूटनीतिक सम्बन्धविच्छेद गरेका ईरान र साउदी अरेबियाले सम्बन्ध सुधारको प्रयासलाई अन्तिम रुप दिएका छन् । यसका लागि दुबै पक्षबाट कूटनीतिक भ्रमण र आदान प्रदान हुने बताइएको छ ।
ईरानका विदेशमन्त्री जाभाद जरिफले दुई देशबीच कूटनीतिक आदान प्रदानको लागि सबै तयारी पुरा भएको र सेप्टेम्बर पहिलो साता हज यात्रा समाप्त भएलगत्तै भ्रमण सुरु हुने बताए । यसका लागि दुबै देशका केही कूटनीतिज्ञलाई भिसा जारी गरिसकिएको छ ।
अरब राष्ट्रहरु सिरिया, यमन र इराकमा जारी हिंसाको विषयमा फरक मत राख्ने यी दुई राष्ट्रले गत वर्ष सम्बन्ध तोडेका थिए । सिया ईस्लाम धर्म मान्ने ईरान र सुन्नी ईस्लाम धर्म मान्ने साउदी अरेबियाबीच धेरै कुरामा फरक मत रहँदै आएको छ ।
साउदीले अघिल्लो वर्ष जनवरीमा प्रभावशाली शिया धर्मगुरु शेख निमरलाई मृत्युदण्ड दिएपछि दुई देशको तनाव उत्कर्षमा पुगेको थियो । खाडीका प्रभावशाली तर कट्टर विरोधी राष्ट्रहरुको सम्बन्ध सुधारको बाटोमा लागेपछि खाडी कतार समस्या पनि हल हुने अनुमान गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्