Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


नेपाल फाइनलमा, मलेसिया १० विकेटले पराजित


0
Shares

शनिबार भएको सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई १० विकेटले पराजित गर्‍यो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले प्रस्तुत् गरेको १२२ रनको विजयी लक्ष्य नेपालले २३ ओभर १ बलमा बिनाकुनै विकेटको क्षतिमा पूरा गर्‍यो ।

सन्दीप सुनार र आसिफ शेख दुबैले अर्धशतक पूरा गरे । ७७ बल खेलेका सन्दीपले ८ चौकाको मद्दतमा ५१ रन जोड्दा आसिफ शेखले ८ चौका र १ छक्का प्रहार गर्दै ६५ बलमा ५० रन बनाए ।

टस जितेर पहिले बलिङ गरेको नेपालले ४२ ओभरमा मलेसियालाई १२१ रनमा अलआउट गरेको थियो ।

राम्रो सुरुआत गरेको मलेसियालाई सामान्य योगफलमा सीमित गर्न नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए ।

पवन सर्राफले २ तथा रोहितकुमार पौडेल, साहव आलम र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

नेपालले अब उपाधिका लागि फाइनलमा आइतबार हङकङसँग खेल्नेछ । शनिबारै भएको अर्को सेमिफाइनलमा हङकङले सिंगापुरलाई पराजित गर्‍यो ।

*सच्याइएको । यसअघि, ‘नेपाल एसिया कपमा छनोट’ भनिएकोमा त्यससम्बन्धमा टुंगो लाग्न बाँकी रहेको र फाइनल खेलपछि नै त्यसको निर्धारण हुने भएकाले सच्याइएको छ’–सम्पादक ।