Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


तुर्कमेनिस्तानमा तेक्वान्दोतर्फ नेपालका दुवै खेलाडि पराजित


0
Shares

महिला ५३ केजी मुनिको तौल समूहमा नेपालकी निमा गुरुङ ईरानकी खेलाडी नाहिद कियानीचन्देहसँग पराजित भईन् ।

निमाले खेल २ को विरुद्ध २२ अंकले गुमाएकी हुन् । यसैगरी पुरुष ६३ केजी मुनिको तौल समूहमा नेपालका वीरबहादुर महरालाई ताजकिस्तानका दाभ्लातमुराद कारिमोभले १५-१२ ले पराजित गरे ।

पहिलो चरणमा ८-० ले पछि परेका महराले दोस्रो चरणमा ६-१ ले पुनरागमन गरे । तेस्रो चरणमा ६-६ को बराबरी गरेपछि महरा समग्रमा ३ अंकले पराजित भएका हुन् ।

खेल हारेपछि दुवै नेपाली खेलाडिले नयाँ प्रविधिअनुसारको सेन्सर प्याडमा प्रशिक्षण गर्न नपाउँदा सोचे अनुसारको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए ।

प्रतियोगितामा नेपालले आज पुरुष थ्रि बाई थ्रि बास्केटबलमा पनि प्रतिस्पर्धा गर्दैछ ।

विक्रम जोशीको कप्तानीमा रहेको नेपालले आज पहिलो खेलमा उज्वेकिस्तानसँग तथा दोस्रो खेलमा कीर्गीस्तानसँग खेल्नेछ ।

१० दिनसम्म चल्ने प्रतियागितामा नेपालका १८ खेलाडीले विभिन्न ८ खेलमा प्रतिस्पर्धा गर्दैैछन् ।

नेपालले तेक्वान्दो, बुद्धिचाल, पौडी, भारोत्तोलन, पुरुष थ्री वाई थ्री बास्केटबल, मुवाथाई, किक बक्सिङ र कुराँस खेलमा सहभागिता जनाउँदैछ ।

एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्समा एसियाका ४५ देश, ओसियाना क्षेत्रका १९ र एउटा शरणार्थी टिमसहित कुल ६५ टोली सहभागी छन् ।