Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


२७ पटक गोल गर्ने मौका गुमाउँदा बेटिससँग रियल मड्रिड पराजित


0
Shares

यो सिजन खराव प्रदर्शन गरिरहेको च्याम्पियन रियल मड्रिड गएराति भएको खेलमा बेटिससँग १–० ले पराजित भयो ।

घरेलु मैदान बर्नाबेउमा भएको खेलको इन्जुरी समयको अन्तिम मिनेटमा बेटिसका २१ वर्षे खेलाडी सानाब्रयाले गोल गर्दै रियल मड्रिडलाई पराजित गरेका हुन् ।

घरेलु मैदानमा जिनेदिन जिदानको टिम रियल मड्रिडले गोल गर्ने राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेको थिएन ।

रोनाल्डोसहित रियल मड्रिडका खेलाडीले २७ पटक गोल गर्ने मौका बनाएका थिए । तर गोल गर्न नसकेपछि रियल बेटिससँग हार्न बाध्य भयो ।

हारपछि युरोपियन च्याम्पियन रियल मड्रिड ला–लिगामा शीर्ष स्थानको बार्सिलोनाभन्दा सात अंकले पछि परेको छ ।

रियलको पाँच खेलबाट मात्रै ८ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको १५ अंक छ ।

लिगअन्तर्गत गएराति नै भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २-१ ले हराएको एथ्लेटिको मड्रिड पाँच खेलबाट ११ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

अर्को खेलमा लास पालमसलाई १-० ले हराएको सेभिल्ला पाँच खेलबाट १३ अंकसहित दोस्रो स्थानमा कायम छ ।

यस्तै डिप्रोटिभो डि लाकोरुनाले एलाभेसलाई १-० ले हरायो भने लेगानेस र गिरोनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।