नेपाल राष्ट्र बैंकले बैंकले गत साउनको मुलुकको आर्थिक अवस्थाकाबारेमा जानकारी दिँदै शुक्रबार प्रकाशन गरेको तथ्यांकमा काठमाडौंमा सबैभन्दा कम महँगी भएको जनाएको छ ।
गत साउनमा काठमाडौंमा १.३ प्रतिशतलेमात्रै महँगी बढेको छ । पहाडमा २.२, तराईमा २.८ र हिमालमा सबैभन्दा बढी ५.६ प्रतिशतले महँगी बढेको बैंकले जनाएको छ ।
त्यसैगरी, गैरखाद्य वस्तुको महँगी ४.९ प्रतिशतले बढेको छ । गत वर्षको यसै अवधिमा यो समूहको महँगी ८.१ प्रतिशतले बढेको थियो ।
त्यस समूहमा लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, फर्निसिङ तथा घरायसी उपकरणलगायत वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैरखाद्य मुद्रास्फीति कम रहन गएको बैंकले जनाएको छ ।
बैंकले महँगी नियन्त्रणमा सफलता पाएको उल्लेख गर्दै गत वर्षको साउनमा ८.६ प्रतिशतले बढेको महँगी यस वर्षको साउनमा २.३ प्रतिशतलेमात्रै बढोत्तरी भएको जनाएको छ ।
बैंककाअनुसार साउनमा समग्र खाद्य वस्तुको मूल्य वृद्धिदर एक प्रतिशतले ऋणात्मक भएको छ । गत वर्ष यही अवधिमा यो दर ९.३ प्रतिशतले बढेको थियो ।
‘दलहन, गेडागुडी, तरकारी, फलफूल, मसलाको मूल्यवृद्धि दर गत वर्षकोभन्दा उच्चदरले घटेपछि खाद्य वस्तुको मूल्यवृद्धि पनि घट्न गएको हो’–प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी, जुत्ता, लत्ताकपडा, घरायसी सामानलगायत गैरखाद्य वस्तुमा ४.९ प्रतिशतले महँगी बढेको छ । गत वर्षको यसै अवधिमा सो समूहका वस्तुको महँगी ८.१ प्रतिशतले बढेको थियो ।
विद्युत् आपूर्तिपछि औद्योगिक उत्पादनमा वृद्धि
चालु आवमा मुलुकको औद्योगिक उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको छ ।
मुलुकभर नै विद्युत्भार कटौतीको अन्त्य, औद्योगिक वातावरण तथा सरकारको उद्योगमैत्री नीतिका कारण औद्योगिक उत्पादन बढ्ने अवस्था देखिएको हो ।
ऊर्जा आपूर्तिमा सुधार, आपूर्ति व्यवस्थामा सहजता र प्रत्यक्ष वैदेशिक लगानीमा भएको वृद्धिले अपेक्षानुरुप औद्योगिक क्षेत्रको वृद्धिदर हासिल गर्न सहयोग पुग्ने अनुमान गरिएको छ ।
गत वर्षदेखि सुरु भएको विद्युत्भार कटौतीको अन्त्यले पारेको गुणात्मक सुधार औद्योगिक क्षेत्रमा परेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशन गरेको गत साउनको मुलुकको आर्थिक अवस्था विषयको प्रतिवेदनमा ऊर्जाको उपलब्धता नै प्रमुख सफलताको बाहक रहेको जनाएको छ ।
स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाले त्यसबाट औद्योगिक वातावरणमा सुधार भएको बैंकले ठहर गरेको छ ।
नियमितरुपमा बिजुली आपूर्ति भएपछि गत वर्ष औद्योगिक उत्पादन बढेर १०.९ प्रतिशत पुगेको थियो ।
अत्यधिक मनसुनी वर्षाले सिर्जना गरेको बाढी–पहिरो तथा डुबानले कृषिजन्य वस्तुमा ठूलो क्षति पुगेको सुरुमा आँकलन गरिएपनि सोभन्दा क्षति कम रहने अनुमान गरिएको छ ।
वर्षाका कारण तराईका अधिकांश जिल्लामा कृषि पूर्वाधारलगायत सम्पतिमा क्षति पुगेको छ ।
मनसुन समयमै सुरु भएको, पछिल्लो समयमा मनसुनी वर्षा सामान्य रहेको, कृषिजन्य उत्पादनका साधनको उपलब्धता सहज रहेको तथा बाढीको क्षतिबाट उत्पन्न हुने असर न्यूनीकरण गर्न सरकारबाट पहल भइरहेकाले कृषि क्षेत्रमा पर्ने असर न्यूनीकरण हुने अपेक्षा गरिएको छ । रासस









प्रतिक्रिया दिनुहोस्