सरकारी निकायले माग अनुसारको आपूर्ति गर्न नसक्दा केही सातायता चितवनमा युरिया मल अभाव भएको थियो । तर आज (आईतबार)देखि कृषि सामाग्री कम्पनी लिमिटेडले ५८ टन युरिया मल वितरण सुरु गरेपछि सहज हुँदै गएको हो । कृषि समाग्रीले अब तीनदिन लगातार मल वितरण गर्ने जनाएको छ ।
आज मल नपाउने डरमा कृषकहरु विहानैदेखि लाईनमा बसेर मल खरिद गरेका छन् । भरतपुरमा रहेको हाम्रो सहरकारी संस्थामा युरिया लिन कृषकहरुको भीड लागेको थियो ।
आज पर्याप्त मात्रामा मल आएपछि कृषकहरुले मल पाएका छन् । कृषि सामाग्री कम्पनी लिमिटेडका कायम मुकाम शाखा प्रवन्धक रविन्द्र गौतमले चितवनमा आवश्यक जति युरिया मल उपलब्ध हुँदै गएको जानकारी दिए । उनका अनुसार चितवनमा करिव एक हजारदेखि पन्ध्र सयमेट्रिक टन युरिया मल आवश्यक पर्दछ ।
तर यो सिजनमा मलको माग करिव २ हजार मेट्रिक टनसम्म बढेकोले समस्या भएको हो । कृषि सामाग्रीबाट अहिलेसम्म करिव ७ सय मेट्रिक टनको हाराहारीमा मात्र युरिया मल वितरण भएको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनबाट साउन यता हालसम्म ९ सय ३७ मेट्रिक टन मल वितरण भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन चितवनका प्रवन्धक बुद्धिविनोद दाहालले तराईको बाढी र निर्वाचनले केही समय मल आपुर्तिमा समस्या भएकोले चितवनमा मलको अभाव भएपनि अहिले भने सहज बन्दै गईरहेको बताए ।
उनले यस पटकको सिजनमा आवश्यक भन्दा बढि मलको माग भएकोले केही समस्या सिर्जना भएको बताए । अहिले साल्ट ट्रेडिङ कर्पोरेशनमा युरिया मल उपलब्ध भएको र दैनिकजसो सहकारी संस्थाहरुले मल वितरण गर्दै गईरहेको बताए । ‘पहिले सहकारीले एक पटक मल लगेको दुई सातासम्म लिन आउदैनथ्यो, अहिले दैनिक लिन आउँछ, माग बढेकोले केही असहज जस्तो बनेको हो,’ प्रवन्धक दाहालले भने ।
उनले यसपटक समयमै वर्षा हुँदा धेरै ठाउँमा धान खेती भएको र रोगबाट बचाउन युरियाको खपत बढेको बताए । धान पसाउने बेलामा केहीदिन बजारमा युरिया मलको अभाव भएपछि किसानहरु चिन्तित भएका थिए ।
धानमा पहेलो हुने रोग लाग्यो भने त्यसको निराकरणको लागि किसानहरुले युरिया मलको प्रयोग गर्ने गर्दछन् । धान पसाउने बेलामा मल नपाएपछि किसानहरु मल खोज्न अन्य जिल्लामा समेत पुग्ने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्