प्रहरी सहायता कक्षका कारण दशैंका यात्रुलाई सहज • Image Khabar Image Khabar


प्रहरी सहायता कक्षका कारण दशैंका यात्रुलाई सहज


Imagekhabar
१४ आश्विन २०७४, शनिबार ०८:४१

प्रहरी सहायता कक्षका कारण दशैंका यात्रुलाई सहज

प्रहरीले नारायणगढ र भरतपुर बसपार्कमा चौबिसैघण्टा सेवा दिने गरी दुई वटा सहायता कक्षा सञ्चालन गरेको छ ।

फूलपातिदेखि सुरु भएको सो कक्ष आउँदो छठपर्व जारी रहनेछ । प्रति कक्षमा न्यूनतम् दुई जना प्रहरी जनशक्ति छन् । सडकमा सवारी चेकजाँच गर्ने अन्य प्रहरी खटिएका छन् ।

चाडपर्वका समयमा यात्रुले बढी भाडा दिनुपर्ने तथा चोरी डकैती र सामाजिक असुरक्षा भोग्नुपर्ने समस्या न्यून गर्न सहायता कक्ष सहयोगी देखिएको छ ।

सहायता कक्षाबाट खटिएका प्रहरीले यात्रा गरिरहेका यात्रुलाई सोधेर अप्ठेरो परेको छ/छैन भनेर जिज्ञासा राखेको देख्दा खुशी लागेको एक यात्रु रामचन्द्र शर्माले बताए ।

यस्तो अभियानलाई प्रहरीले दशैँमा मात्रै नभई हरेक समयमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

हरेक सहायता कक्षमा दुईजना प्रहरी राख्ने गरिएको चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यले जानकारी दिए । ।

उनका अनुसार टिकट पाए-नपाएको, यात्रु ठगिए-नठगिएको तथा गाडी पाए-नपाएका बारेमा प्रहरीको सहायता कक्षबाट निगरानी गर्दै आएको छ ।

यातायातसम्बन्धी कुनै पनि समस्या परेमा तत्कालै कक्षका प्रहरीलाई खबर गर्न समेत उपरीक्षक शर्माले आग्रह गरेका छन् ।

भरतपुरको केन्द्रीय बसपार्कमा खटिनुभएका प्रहरी नायब निरीक्षक नारायण श्रेष्ठले अहिलेसम्म ठूलो अप्रिय घटनाका बारेमा सहायता कक्षमा जानकारी नआएको बताउँदै सामान छाड्ने र हराउने क्रम भने देखिएको बताए ।

शुक्रबार एक जनाले झोला छाडेको पाइएकाले हरेक बस टिकट काउन्टरमा जानकारी गराएर झोला सुरक्षित राखिएको उनको भनाइ छ ।

उनले सहायता कक्षाबाट दिने सेवाका अलावा प्रहरीले चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट अभियान सञ्चालन गरी कुनै समस्या परेको भए यात्रुसँग जानकारी लिने र चालकलाई ट्राफिक सुरक्षाबारे जानकारी दिने गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्