२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौंमा खड्ग जात्रा निकालियो, आकाश भैरवको विशेष पूजा


0
Shares

विजया दशमीका दिन नेवार समुदायले निकाल्ने खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरी टोल तथा गुठीका मानिस निस्कने गर्दछन् ।

काठमाडौंमा टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट नीलवाराही, यट्खाबाट कंकेश्वरी र मध्यरातमा तलेजु भवानी लगायतका पीठबाट खड्गजात्रा निकालिएको हो ।

खड्ग धारण गरेर नगर परिक्रमा गरिसकेपछि आसूरी प्रवृत्तिको प्रतीक कुभिण्डोलाई खड्गले प्रहार गरी जात्रा सम्पन्न गरिन्छ ।

खड्ग जात्रामा शक्तिपीठहरुबाट तन्त्र साधना गरी साँझ देवदेवीको मूर्ति रहेको शक्तिपीठको मूल घरबाट खड्ग जात्रा निकालिन्छ ।

कीर्तिपुरमा पनि महिलाले खड्ग जात्रा निकालेका छन् । यहाँका महिलाले खड्गको सट्टा सिन्दूर दानी बोकेर नगर परिक्रमा गरि खड्ग जात्रा निकाल्ने परम्परा रहेको छ ।

यसका साथै काठमाडौं इन्द्रचोकमा रहेको आकाश भैरवको चालं पूजा सम्पन्न भएको छ ।

विजया दशमीको दिन आकाश भैरवमा रहेको नाटेश्वरको अमूर्त मूर्तिलाई नगर परिक्रमा समेत गरिएको थियो ।

परम्परागत साँस्कृतिक बाजागाजाका साथ ठाउँ ठाउँमा भैरव र पीठ पूजासमेत गरिएको थियो ।

नगर परिक्रमापछि काठले बनेको नाटेश्वरको अमूर्त मूर्ति आकाश भैरवको मन्दिरमा विशेष पूजा गरी भित्रयाईएको थियो ।