२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सडकका बेवारिसे मानिसहरुको एकाएक यसरी आयो परिवर्तन(भिडियो हेर्नुहोस)


0
Shares

सदरमुकाम बेसीशहरमा मानव सेवा आश्रम स्थापना भएपछि बेवारिसे मानिसले संरक्षण पाउनुका साथै जीवनमा परिवर्तन आउन थालेको हो ।

लमजुङको बेसीशहर नगरपालिका वडा नं. ३ गाउँशहरका पञ्चराम परियार सातपत्रे कपडा लगाएर सडकमा भौंतारिएको वर्षौं भएको थियो ।

कहिले मागेर त कहिले भोकभोकै जीवन कटाउँदै आएका ६३ बर्षिय पञ्चरामको जीवनमा अहिले परिवर्तन आएको छ ।

शरीरको सातपत्रे कपडा हटेको छ । दारी कपाल काटिएको छ । बर्षौंपछि नुहाईधुहाई भएर पञ्चराम चिरिचट्ट परेका छन् ।

सदरमुकाम बेसीशहरमा झुत्रेझाम्रे बनेर माग्दै हिँड्ने पञ्चरामको मुहार फेरिएको छ ।

‘सर्वोत्कृष्ट जीवन: शाश्वत चिन्तन’ (साँचो जीवन निर्माण) अभियानद्वारा सञ्चालित मानवसेवा आश्रम लमजुङले पञ्चरामको जीवनशैली फेरिदिएको हो ।

पञ्चराम मात्र होइन, बेसीशहरमा नै बर्षौंसम्म मागेर जीवन गुजारा गर्ने मिथुनको पनि बस्ने खाने ठेगान थिएन । पाए खाने नपाए भोकै सडकमा सुत्ने मिथुन आजभोली चिरिचट्ट र रिष्टपुष्ट बन्दै जानुभएको छ ।

पञ्चराम र मिथुन मात्र हैन बेसीशहर, सुन्दरबजार, भोर्लेटारलगायतका सडकमा भौतारिदैँ हिँड्ने मानिसले आश्रममा नयाँ जीवन जिउँदै छन् ।

आश्रममा हाल ६ जना महिला र ४ जना पुरुषले आश्रय लिइरहेका छन् ।

सडकमा भौंतारिएका, खान नपाएका, परिवार नभएका, मानसिक सन्तुलन गुमाएकाहरुलाई आश्रममा ल्याएर सेवा दिने गरिएको मानव सेवा आश्रम लमजुङकी संयोजक अनिता अधिकारी बताउँछिन् ।

बेसीशहरमा एउटा घर भाडामा लिएर आश्रम सञ्चालन गरिएको छ । आश्रम सञ्चालन गर्न मुठीदान, नगद चन्दा, खानेकुरा, लत्ताकपडा दान लिने गरिएको छ ।

त्यसो त आजभोली आश्रम पुगेर जन्मदिन, विवाह बर्षगाँठ तथा अन्य खुसीका पलहरु साट्नेहरु बढ्न थालेका छन् ।

त्यही खुसी साट्न आउनेबाट प्राप्त उपहारबाट आश्रम सञ्चालन हुँदै आएको छ । पत्रकार परमेश्वर अधिकारी आश्रममा पुगेर जन्मदिन मनाउँदा निकै आनन्द आएको बताउँछन् ।

२०८० सालसम्ममा जिल्लालाई सडक मानवरहित बनाउने लक्ष्य लिइएको आश्रम सञ्चालक संस्था सर्वोत्कृष्ट जीवनका संयोजक किसान संगीत नेपालीले बताए ।

नागरिक स्तरबाट सुरु भएको यस्तो परोपकारी अभियानमा राज्यको तर्फबाट पनि सहयोग र हातेमालो हुन आवश्यक देखिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस