२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


अवैध विद्युतीय मुद्रा ‘बिटक्वाइन’का सातजना कारोबारी पक्राउ, ‘नेता’ पनि परे


0
Shares

इन्टरनेट नेटवर्किङमार्फत् बिटक्वाइनको कारोबार गर्नेहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्तप्रताप शाह, सिन्धुपाल्चोकका मिङमार तामाङ, नुवाकोटका विन्दा ढकाल, रुपन्देहीका मनीषकुमार गिरी र ललितपुरका दमन बस्नेत रहेका छन् ।

नेपालमा बिटक्वाइनका कारोबारी पक्राउ परेको पहिलोपटक हो ।

अन्तर्राष्ट्रिय बजारमा निकै महँगो मूल्यमा कारोबार भइरहेको बिटक्वाइनलाई नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरिसकेको छ ।

अहिलेसम्म नेपालमा बिटक्वाइन कारोबारका मुख्य व्यक्तिहरु यिनीहरु रहेको र उनीहरुभन्दा तलको नेटवर्कमा थुप्रै रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।

यो समूहले झन्डै १० लाख डलर बराबरको बिटक्वाइनको कारोबार गरेको देखिएको पनि प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले बिटक्वाइन कारोबारमा प्रयोग गरिएको मोबाइल र ल्यापटपसमेत बरामद गरेको छ ।

पक्राउ परेका ज्ञानप्रसाद पौडेल, विन्दा ढकाल र मिङमार तामाङ यसअघि हर्बो नेटवर्किङका कारोबारी भएको र हर्बोलाई अवैध घोषणा गरेपछि उनीहरु यो धन्दामा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यस्तै, दमन बस्नेत भने प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाका नेता भएको बुझिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सन् २००९ देखि सुरु भएको बिटक्वाइनको कारोबार नेपालमा भने सन् २०१३ बाट हुन थालेको पाइएको पनि प्रहरीले जनाएको छ ।

प्रतिविटक्वान १० सेन्टबाट सुरु भएको बिटक्वाइनको मूल्य अहिले ४ हजार ३९३ अमेरिकी डलर पुगेको छ ।

विश्वका थुप्रै देशले बिटक्वाइन कारोबारलाई अवैध घोषणा गरिसकेका छन् भने यसको कारोबारले अर्थतन्त्रमा समस्या ल्याउनसक्ने चेतावनी पनि अर्थविद्हरुले दिँदै आएका छन् ।