नरभक्षी चितुवा नियन्त्रणमा लिन विशेषज्ञको टोली सन्धिखर्कको जंगलमा • Image Khabar Image Khabar


नरभक्षी चितुवा नियन्त्रणमा लिन विशेषज्ञको टोली सन्धिखर्कको जंगलमा


Imagekhabar
२१ आश्विन २०७४, शनिबार १६:५८

नरभक्षी चितुवा नियन्त्रणमा लिन विशेषज्ञको टोली सन्धिखर्कको जंगलमा

राष्ट्रिय प्राकृतिक कोष जैविक विविधता संरक्षण केन्द्र चितवनबाट चारजनाको टोली शनिबार बिहान सन्धिखर्क आएको हो ।

केन्द्रका वरिष्ठ वन्यजन्तु प्राविधिक हर्कमान लामा, वन्यजन्तु प्राविधिकहरु तीर्थ लामा, ओमप्रकाश चौधरी र भेटेरीनरी प्राविधिक किरणराज रिजाल चितुवा नियन्त्रणमा लिन जिल्ला आएका हुन् ।

प्राविधिक तीर्थ लामाले सुरुमा जालमा फसाउने विधि अपनाउने र त्यो सम्भव नभए गोली चलाएर भएपनि चितुवालाई नियन्त्रणमा लिने बताए ।

‘हामीलाई स्थानीयको अधिकतम् सहयोगको जरुरत पर्छ’–उनले भने–‘चितुवालाई नियन्त्रणमा लिन कुनै कसर बाकी राख्दैनौं ।’

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा विषशेज्ञको टोली चितुवा प्रभावित क्षेत्रमा गएको छ ।

विशेषगरी सन्धिखर्कको किमडाँडा, कुर, खाँचीकोट, भूमिकास्थानको नुवाकोट र ढिकुरामा चितुवाले मानिसलाई आक्रमण गर्ने गरेको छ ।

चितुवाले गत सोमबार सन्धिखर्क–२ बेहोरेका पदम नेपालीकी ८ वर्षीया छोरी प्रसन्नी नेपालीको ज्यान लिएको थियो ।

गत भदौ २७ गते सन्धिखर्क–७ प्रगतिनगरका ४ वर्षीय बालक मिनस केसीको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

पछिल्लो चार वर्षमा यहाँ चितुवाको आक्रणबाट ११ जना बालबालिकाको ज्यान गइसकेको छ ।

बालक केसीको मृत्यु भएपछि नै स्थानीय प्रशासनले चितुवा मार्नका लागि सेना र प्रहरी परिचालन गरेपनि अहिलेसम्म चितुवा फेलापार्न सकिएको छैन ।

चितुवाको आक्रमण बढेपछि स्थानीय निकै त्रासमा छन् । बालबालिकाहरु अभिभावकको सहारामामात्र विद्यालय जान थालेका छन् ।

चितुवाले दैनिकजसो बाख्रा–कुखुरा खाइदिने गरेको छ । स्थानीय गाईबाख्रा चराउन जंगल जान पनि छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्