
बाजुरा, पुस २५ । बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ ।
चिसोको बेला छाउगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीया रमित बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
उनका अनुसार आमा र दुई छोरा सुतिरहेको बेलामा राति आगोे सल्केर उनीहरुको मृत्यु भएको हो । आमा र दुई बालक मृतावस्थामा फेला परेको स्थानीयवासीले खबर दिएपछि इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी घटनास्थल पुगेको थियो । मृतक बोहराका श्रीमान् विदेशमा नोकरीको लागि गएका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस्