
घटनापछि प्रहरीले १०० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपनि अझै हत्याराको पहिचान गर्न नसकेको हो ।
सोमबार दिउँसो ३ बजेतिर काठमाडौं, नयाँबानेश्वरको खरिबोट, प्रयागमार्गमा एक व्यक्तिले चलाएको गोलीबाट घाइते भएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आयुक्त अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले अनुसन्धान जारी रहेको र घटनाको नजिक प्रहरी पुगेको बताए ।
उनले भने–‘शंकास्पद स्थान र व्यक्तिमाथि निगरानी गरीरहेका छौं, केही दिनमै घटनामा संलग्न पक्राउ पर्छन् ।’
घटनालगत्तै सोमबार दिउँसो हतियारसहित काभ्रेका छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप तामाङलाई गोंगबु क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो ।
तर, उनीहरुको गौचन हत्यामा संलग्नताबारे निकटता नखुलेको प्रमुख आयुक्त चन्दले जानकारी दिए ।
उनले अनुसन्धानकाक्रममा दर्जनौं व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडिएको जानकारी दिए ।
प्रहरीले घटनाको सम्बन्धमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्