१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


0
Shares

अपडेट

काठमाडौं, पुस २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चारजनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ ।

आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकन्ठ नगरपालिका–४ बस्ने अमिता लामा सोदेम्बा र सीजी डेभलपर्सविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

खड्काले अन्य व्यक्तिको नाममा लुकाइराखेको रु सात करोडभन्दा बढीको सम्पत्तिसमेत जफतको माग–दाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो ।

खड्कासहितलाई रु १८ करोड ६६ लाख बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

निगमका पूर्वकार्यकारी निर्देशक खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा उजुरी परेपछि उनको सार्वजनिक सेवा प्रवेश गरेपश्चात्को समग्र आय र व्ययको विश्लेषण गरेको थियो ।

आयोगकाअनुसार २०६९ साल चैत २ गतेदेखि अनुसन्धान अवधिसम्ममा खड्काले पारिश्रमिकबाट जम्मा रु ४० लाख ५७ हजार १५५ आम्दानी गरेका थिए ।

यस्तै, जग्गा बिक्रीबाट रु ५८ लाख ७५ हजार, ऋण सापटीबाट जम्मा रु पाँच करोड ३३ लाख ३६ हजार र घर भाडाबाट रु १३ लाख ५६ हजार आम्दानी भएको देखिन्छ ।

यस्तै, नोकरीबाट अवकाश हुँदा प्राप्त गरेको आर्थिक सुविधा रु २९ लाख २२ हजार ६९८, पेन्सनबाट रु १४ लाख ७८ हजार ४८२, विप्रेषण आयबाट रु ८ लाख २६ हजार ९१३, सवारी बिक्रीबाट रु ३५ लाख, छोरा–बुहारीको पारिश्रमिकबाट रु ११ लाख चार हजार तीन गरी कुल रु सात करोड ४४ लाख ५६ हजार २५२ मात्रै रहेको छ ।

खड्का सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ साल चैत २ गतेसम्ममा देखिएको विभिन्न शीर्षकको आय रु एक करोड २० लाख १३ हजार ४९९ समेत गरी रु ८ करोड ६४ लाख ६९ हजार ७५१ आय–आर्जन गरेको देखिएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार अनुसन्धान अवधिसम्ममा खड्काले पुर्ख्यौली घरबाहेक नै तीनओटा घर निर्माण तथा खरिद गरेको र दुईओटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको पाइएको छ ।

यस्तै, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको देखिएको छ ।

घरजग्गा खरिदमा रु ११ करोड ६१ लाख ४३ हजार २०६, विभिन्न कम्पनीको सेयर खरिदमा रु एक करोड ६ लाख चार हजार, ऋणको साँवा ब्याज भुक्तानीमा रु चार करोड २२ लाख ९६ हजार २३९, व्यक्तिगतरूपमा दिएको सापटी रु एक करोड २५ लाख ६० हजार, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग रु एक करोड १७ लाख ७५ हजार, छोरा–छोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च रु २५ लाख १४ हजार ६९५ रहेको छ ।

यस्तै, गाडी खरिदमा रु एक करोड १७ लाख ४२ हजार, विभिन्न बैंकका एटीएमबाट सुपरमार्केटमा खर्च गरिएकोसमेतका रकम रु एक करोड ८० लाख १६ हजार ४४६ र विभिन्न ५५ ओटाभन्दा बढी बैंक, वित्तीय संस्था तथा सहकारीमा जम्मा मौज्दात रु दुई करोड ७१ लाख ५३ हजार ४२१ समेत गरी जम्मा रु २५ करोड पाँच लाख ९ र निज सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ साल चैत २ गतेसम्म विभिन्न शीर्षकमा गरेको खर्च तथा लगानी रु दुई करोड दुई लाख ७० हजार ३७१ समेत गरी रु २७ करोड ३० लाख ७५ हजार ३८० खर्च तथा लगानी गरेको देखिएको छ ।

उक्त लगानीमा खड्काको स्रोत खुलेको आय रु ८ करोड ६४ लाख ६९ हजार ७५१ घटाउँदा देखिन आउने रु १८ करोड ६६ लाख पाँच हजार ६२९ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नसकेको आयोगको ठहर छ ।

आयोगले स्रोत नखुलेको उक्त रकम गैरकानुनीरूपमा आर्जन गरेको अभियोग लगाएको छ । आयोगले स्रोत नखुलेको रकम नै बिगो कायम गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।

आयोगले अमिता लामा सोदेम्बाको नाममा रु सात करोड ५४ लाख ५७ हजार ८७५ सम्पत्ति लुकाइराखेको दाबी गरेको छ ।

काठमाडौंको साविक महाँकाल–४ स्थित कित्ता नम्बर–१९१ मा सिज डेभलपर्सले निर्माण गरेको सीजी हिल्स हात्तीगौंडामा रु तीन करोड २५ लाखमा खरिद गरेको घर लुकाएको आयोगको दाबी छ ।

यस्तै, साविक विष्णु बूढानीलकन्ठ–३ कित्ता नम्र–६८९, १४८२ र १५२० को मूल्य रु ४० लाख ११ हजार ८७५ खरिद गरेको ८ आना जग्गा र रु ८४ लाख ४६ हजारमा खरिद गरेको बा१६च ८४८४ नम्बरको टक्सन गाडी, काठमाडौंको साविक महाँकाल–४ स्थित कित्ता नम्बर–३५० मा रहेको सीजी डेभलपर्सले निर्माण गरेको घर नम्बर–२२ खरिद गर्नका लागि भुक्तानी गरेको रु तीन करोड पाँच लाख र अमिता लामाको नाममा रहेको एनएमबी बैंक र सिटिजन बैंकको खाताबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको आयोगले जनाएको छ ।

आयोगले काठमाडौंको साविक विष्णु बूढानीलकन्ठ गाविस–७ मा रोडशो रियलस्टेटले निर्माण गरेको घर खरिद गर्न भनी बैनास्वरूप पठाएको रु ८९ लाख ८९ हजार रकम बराबरको चेक जफत गरेको छ ।

सो चेक आयोगले अदालतमा दशीकारुपमा पेस गरेको प्रवक्ता दंगालले जानकारी दिए । रासस

अपडेटअघिको समाचार तल

काठमाडौं, पुस २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध रु १८ करोड ६६ लाख पाँच हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालकाअनुसार उक्त सम्पत्तिको स्रोत नखुलेको पाइएकाले सोमबार मुद्दा दायर गरिएको हो ।

लामो समयदेखि आयोगले खड्काको सम्पत्तिकाबारेमा छानबिन गर्दै आएको बताइएको छ ।

प्रवक्ता दंगालकाअनुसार खड्कामाथि निगमको प्रमुख तथा अन्य सरकारी निकायमा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोग लागेको छ ।

आयोगले दर्ता गरेको मुद्दाको विस्तृत् विवरण आउन बाँकी छ । रासस