१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


तुलसीको उद्यापन गर्न समस्या छैन : पञ्चांग निर्णायक समिति


0
Shares

समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले असार शुक्ल एकादशीदेखि सुरु गरिएको चतुर्मास व्रत तथा पूजा समापन, कात्तिक कृष्ण प्रतिपदादेखि सुरु गरिएको कात्तिक स्नान, नव अन्नप्राशन (नयाँ उत्पादित धान, मासलगायत अन्न) चढाएर खाने, पूजा एवं हवन गरिने काम नियमित भएकाले यस वर्ष बृहस्पति अस्त भएपनि गर्न हुने बताए ।

‘बृहस्पति तथा शुक्र अस्त भएको समयमा नित्य (नियमितरूपमा गरिने) र नैमित्तिक (आकस्मिकरूपमा गरिने) कर्म गर्नुहुन्छ, काम्य (कुनै कामना राखेर गरिने) कर्ममात्र गर्नुहुँदैन, अस्तका बेला बिरामीको ग्रह–दोष निवारणका लागि गरिने शान्तिस्वस्ति पनि गर्नुहुन्छ’–उनले भने ।

तुलसीको हवन प्रत्येक वर्ष कात्तिक शुक्ल द्वादशीदेखि मार्ग शीर्ष कृष्ण पञ्चमीसम्म गरिने नियमित कर्म भएकाले शास्त्रीय मान्यताअनुरूप नै गर्नुपर्ने समितिले जनाएको छ ।

यस वर्ष कात्तिक १५ गते बुधबारदेखि २२ गते बुधबारसम्म यो कर्म गर्न शास्त्रसम्मत हुनेछ ।

अस्तमा पनि नित्य र नैमित्तिक कर्म गरे फल पाइने र नगरे दोष लाग्ने अध्यक्ष गौतमले बताए ।

यस वर्ष असोज २५ गते बुधबार पश्चिमबाट अस्ताएका बृहस्पति कात्तिक २० गते सोमबार पूर्वबाट उदाउने समितिले जनाएको छ । रासस