३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


जलवायु सम्मेलनमा के भयो ?


0
Shares

विजय नेपाल (इमेज)

सिन्धुपाल्चोक, पुस १८ । १० बुँदे ‘साझा सिन्धु’ घोषणापत्र जारी गर्दै प्रथम राष्ट्रिय जलवायु सम्मेलन मंगलबार सम्पन्न भएको छ ।

७७ जिल्लामध्ये ७५ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा जलवायुसम्बन्धी विज्ञको सहभागिता रहेको भेलामा जलवायु परिवर्तनको असर, चुनौती, यसलाई न्यूनीकरण गर्ने विषयमा गहन छलफल भएको थियो ।

घोषणापत्रको कार्यान्वयन हुने विषयमा भने अझैपनि चुनौती नै देखिन्छ ।

जलवायु परिवर्तन अहिले विश्वव्यापी चासो र चिन्ताको विषय बनेको छ । यसको सन्तुलन र न्यूनीकणका लागि एउटा देशको पहल र प्रयासलेमात्र नभएकाले बेलाबेलामा अन्तर्राष्ट्रिय सम्मेलन पनि भइरहेका छन् । जसमा नेपालले पनि आफ्नो उल्लेख्य सहभागिता जनाइरहेको छ ।

जलवायु परिवर्तनले प्राकृतिक सन्तुलन र मानवीय जीवनमा गम्भीर असर पारिरहेको छ ।

जिल्ला समन्वय समिति महासंघको आयोजना तथा समन्वय समिति सिन्धुपाल्चोकको समन्वयमा जलवायु परिवर्तनबारे दुई दिनसम्म छलफल गरी घोषणापत्र जारी गरिएको छ ।

सिन्धुपाल्चोककोे हिमाली गाउँ मेलम्ची नगरपालिकाको गुफाडाँडामा देशभरका प्रतिनिधिहरुको छलफल भएको थियो ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अत्यधिक दोहन नगरी सचेतनापूर्वक प्रकृतिको उपयोग गर्नुपर्ने र नयाँ पुस्तालाई यसबारे सचेत गराउनुपर्ने धारणा राखेकी थिइन् ।

घोषणापत्रमा जलवायु परिवर्तन तथा यसले पारेको असरबारे वैज्ञानिक खोज तथा अनुसन्धानलाई प्रोत्साहन गर्दैै जनचेतना अभिवृद्धिमा जोड दिने विषयलाई समेटिएको छ ।

त्यस्तै, गाउँपालिका र नगरपालिकामा जलवायु मापनकेन्द्र स्थापनाका लागि पहल गर्नेसमेत बताइएको छ ।

जलवायुअनुकूलन तथा न्यूनीकरणलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न निजी तथा सरकारी क्षेत्रबाट पहल गर्नुपर्ने जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष सीता सुन्दासले बताइन् ।

यसअघि पनि यस्ता कार्यक्रमहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा भइरहेका भएपनि त्यसको कार्यान्वयन पक्ष सधैं फितलो हुने गरेको देखिन्छ ।

औपचारिकता र घोषणामामात्र सीमित यस्ता कार्यक्रमलाई व्यवहारमा लागू गर्नसकेमात्र यसको सार्थकता सिद्ध हुनेछ ।