नेपालको पर्यटनलाई टेवा पुर्याउने उद्देश्यका साथ दुई नेपालीसहित १३ राष्ट्रका ४१ धावक सहभागी भएको ६ दिने ‘एभरेस्ट ट्रेल रेस’ प्रतियोगिता बिहीबारबाट सुरु भएको हो ।
प्रतियोगिता दोलखाको जिरीबाट सुरु भई रामेछापको बाम्तिभन्डार हुँदै सोलुखुम्बु जिल्लाको त्याङबोचे पुगेर पुनः सोही बाटो फर्केर लुक्ला पुगेपछि अन्त्य हुने ‘अन्नपूर्ण ट्रेक एन्ड एक्सपिडिसन’का प्रमुख आङ्कामी शेर्पाले जानकारी दिए ।
सन् २०११ देखि सुरु भएको प्रतियोगितामा यस वर्ष स्पेन, मेक्सीको, कोलम्बिया, अर्जेन्टिना, स्वाइडिस, आइरल्याड, पोर्चुगललगायतका १३ राष्ट्रका धावकहरु सहभागी भएका छन् । नेपालबाट सुमन कुलुङ राई र महिला छेकी शेर्पाले भाग लिएका छन् ।
सुमन कुलुङ राईले हालसम्म १७ भन्दा बढि ‘म्याराथन’मा अवार्ड हात पारिसकेका छन् भने छेकी शेर्पाले कन्चनजंघाको बेसक्याम्पबाट चीनको सिमाना हिल्सासम्म १८ सय किलोमिटर दौडमा उत्कृष्ट १० भित्र पर्न सफल भैसकेकी छन् ।
त्यस्तै, स्पेनका ‘वल्र्ड च्याम्पियन’ धावक लुईस आल्ब्रेटो पनि उक्त रेसमा सहभागी भएका छन् ।
यस्ता प्रतियोगिताले नेपालको पर्यटनको विस्तार हुने पर्यटकहरु आकर्षित हुने शेर्पाले बताए । शेर्पाका अनुसार उक्त प्रतियोगितामा सहभागी महिला र पुरुष धावकहरुको छुट्टा–छुट्टै मुल्यांकन हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार, द्धितिय हुनेले १ लाख र तृतीय हुनेले ५० हजार रुपैयाँ नगदसहित ‘मेडल’ र ‘ट्रफी’ पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्