Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


काठमाडौंमा टेनिस कोर्टसहितको अन्तर्राष्ट्रिय मापदण्डको स्पोर्टस् भिल्ला खुल्यो


0
Shares

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका दुईवटा डबल र एउटा सिंगल टेनिस कोर्टसहितको नौलिन स्पोर्टस् भिल्ला आजदेखि सञ्चालनमा आएको हो ।

उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले मनोज राणासँग टेनिस खेलेर स्पोर्टस् भिल्लाको शुभारम्भ गरे ।

कार्यक्रममा काठमाडौं–४ मा प्रतिनिधिसभा उम्मेदवारहरु नेपाली कांग्रेसका गगन थापा, नेकपा एमालेका डा.राजन भट्टराई र विवेकशील साझा पार्टीकी सुबुना बस्नेत, नेपालमा टेनिस खेल भित्र्याउने ९० बर्षिय हेम लामा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला पनि सहभागी थिए ।

१ करोड २५ लाख रुपैयाँको लागतमा ६ महिना लामो समय लगाएर तयार पारिएको स्पोर्टस भिल्लामा विहान छ बजेदेखि नौ बजेसम्म टेनिस खेल्ने सुविधा छ ।

प्यारापिटसहितको टेनिस कोर्टमा लाइटको समेत व्यवस्था छ ।

villa2

नौलिन स्पोर्टस् भिल्लाका प्रबन्ध निर्देशक किशोर थापाले टेनिस खेलाडीको संख्या बढिरहेको र स्वस्थ रहनका लागि टेनिस खेल्नेको संख्या पनि बढेको तर स्तरीय कोर्टको अभावमा उनीहरु सामान्य कोर्टमा चित्त बुझाउन वाध्य भएका कारण प्रशिक्षकहरुको सुझाव अनुसार अन्तर्राष्ट्रिय मापदण्डमा आधारित कोर्ट बनाएको बताए ।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको स्पोर्टस् भिल्लामा खेलाडीहरुका लागि तीन जना प्रशिक्षक र आवश्यक संख्यामा बल ब्वाइको व्यवस्था गरिएको छ ।

उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले निजीस्तरबाट अन्तर्राष्ट्रियस्तरको कोर्ट निर्माणले टेनिस खेलको विकासमा ठूलो टेवा पुग्ने बताए ।

स्पोर्टस् भिल्लाले वार्षिक सदस्यता लिनेका लागि ४५ हजार तथा अन्यका लागि घण्टाको तीन सय रुपैयाँ शुल्क तय गरेको छ ।

स्कुल र कलेजका विद्यार्थीका लागि भने छुट गरिने प्रबन्ध निर्देशक थापाले बताए । स्पोर्टस् भिल्लामा टिनिस खेलका लागि आवश्यक सामाग्री पनि उपलब्ध छन् ।

स्पोर्टस् भिल्लाको उद्घाटनका क्रममा टेनिसका प्रशिक्षक रामबहादुर तामाङलाई १० हजार रुपैयाँ रुपैयाँसहित सम्मान गरिएको थियो ।