Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


‘एटीएम’ प्रयोग गरी रकम चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ


0
Shares

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुल्गेरियाका नागरिक भिटालिय भाले भिच्नेकिटलाई पक्राउ गरेको हो ।

ठमेललगायतका विभिन्न स्थानमा रहेका बैंकका एटीएमबाट अनधिकृतरूपमा रकम निकाल्न प्रयास गरिरहेको तथा नेपाल इन्भेष्टमेन्ट बैंकको ठमेल, चाक्सीबारीस्थित एटिएममा स्किमर जडान गरेको भनी हुलियासहितको सूचना प्राप्त भएपछि ब्यूरोबाट खटिएको टोलीले खोजी अगाडि बढाएको थियो ।

काठमाडौंका सम्भावित न्यूरोड, ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, क्षेत्रपाटीलगायतका स्थानमा जडान गरिएका एटीएममा गोप्य निगरानी गर्दै जाँदा ठमेल, नरसिंहचोकस्थित एक होटलबाट उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

उनको कोठाबाट १८ थान एटीएम कार्ड, ग्लोबल आइएमई बैंक, सानिमा बैंक तथा नबिल बैंकको एटिएमबाट रकम निकालेको कागज, विद्युतीय उपकरणहरु खोल्न प्रयोग हुने विभिन्न प्रकारका औजार प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका अभियुक्तमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

हालसम्म ब्यूरोले विदेशी नागरिकविरुद्ध गरिएको कारबाहीमा चार रोमानियन, चार टर्किस, चार बुल्गेरियन, चार मोल्दोभियन र दुई भारतीय गरी जम्मा १८ जना विदेशी नागरिक पक्राउ गरिसकेको छ । रासस