२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


बीच बाटोमै पानी मिसावट गरिन्छ इन्धनका ट्यांकरमा


0
Shares

साफेवगर–मंगलसैन सडक अन्तर्गत बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर २ जनालीकोटस्थित मार्स्या धारामा इन्धन बोकेर मंगलसेन आउँदै गरेको ना४ख २३७५ नम्बरको ट्यांकरको ट्यांकीमा पानी हाल्दै गरेको दृश्य देखेपछि धारामा नुहाउन लागेका स्थानीय तीनछक परे ।

जयगढ बजारका स्थानीय सन्तोष खड्काले आफु नुहाउन गएका बेला गाडी रोकेर इन्धनको ट्यांकीमा पानी मिसाएको दृष्य देखेपछि मोबाईलबाट तस्वीर लिएका थिए ।

खड्काले खिचेको भिडियो फुटेजमा ट्यांकरमा २० लिटरको जर्किनबाट १ सय २० लिटर जति पानी भरेको प्रष्ट देख्न सकिन्छ । भिडियो फुटेज खिचेको थाहा नपाएका ट्याङ्कर चालकले उक्त ईन्धन मंगलसेनका लागि जाँदै गरेको बताएका थिए ।

उता मंगलसेनस्थित मुगा आयल स्टोरका सञ्चालक वेदराज ढुंगानाले भने आफ्नो आयल स्टोरमा शुक्रबार कुनै सवारी ईन्धन नआएको बताए । इन्धनमा पानी मिसावट गर्ने ना४ख २३७५ नम्बरको सो ट्यांकरका बारेमा सशस्त्र प्रहरी बल खप्तड गुल्म साफे र प्रहरी चौकी वयालपाटाको चेक पोष्टमा जानकारी लिदा चेक पोस्टहरुमा उक्त ट्यांकर दर्ता नगरिएको भेटिएको छ ।

सशस्त्र प्रहरी बल खप्तड गुल्म साँफेका डिएसपी दिपक कुँवर र प्रहरी चौकी वयालपाटाका ईन्चार्ज नर बहादुर सिंहले दुईवटै चेकपोष्टमा ट्याङ्कर इन्ट्री नभएको जानकारी दिए ।

ट्यांकरमा पानी मिसावट गरेको विषय र उक्त ट्याङ्कर अछामको कुन ठाउँका लागि आएको थियो भन्नेबारे बुझ्दा अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले यस विषयमा कुनै जानकारी नभएको बताए । उनले भिडियो क्लिप प्राप्त भएमा कारवाही गर्ने आधार आफुलाई हुने र अनुसन्धान गरि कारबाहीको दायरमा ल्याउन पहल गर्ने बताए ।

यसैबीच उक्त ट्यांकर साँझ साढे ६ बजेतिर मंगलसेनबाट फिर्ता भएको बताइएको छ ।

प्रत्यक्षदर्शी पत्रकार तुलबहादुर कुँवरका अनुसार उक्त ट्यांकरका चालक र अर्का सहयोगीले बैरागीधारा स्थित त्रिबेणी होटेलमा खाजा खाएर गएका थिए ।

कुवरसँगको सामान्य कुराकानीमा चालकले धनगढीको दक्षिणकालि आयल स्टोरबाट तेल ल्याएको र दुर्गा बक्स गण मंगलसेनमा खन्याएर फर्किएको बताएका थिए ।

अछाममा पेट्रोलियम पदार्थमा मिसावट हुने गरेको गुनासो सवारी चालकले यसअघि पनि गर्दै आईरहेका थिए । इन्धनमा हुने मिसावटले सवारी साधनलाई निकै असर गर्ने र बेला बेलामा समस्या आउने गरेको मोटरसाईकल चालक छत्रबहादुर बोहराको भनाइ छ ।