२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


फरार ढकाल र महतले एक/एक करोड धरौटी बुझाउन नसकेपछि कारागार चलान


0
Shares

न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर वाग्चनको संयुक्त इजलासले मंगलबार महत र ढकाललाई रु एक/एक करोड धरौटी माग गरेको र उनीहरु धरौटी बुझाउन नसकेर मंगलबार (आजै) डिल्लीबजार कारागार चलान भएको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए ।

उनका अनुसार महत र ढकाललाई थुनछेक आदेशसहित रु एक÷एक करोडको धरौटीको माग गरिएको थियो । अदालतको आदेशअनुसार धरौटीको रकम बुझाउन नसकेर उनीहरु थुनामा गएका हुन् ।

तत्कालीन कर फर्छ्योट आयोगमार्फत अनियमितता गरेको आरोप लागेपछि फरार महत र ढकाल गत बुधबार अदालतमा वयानका लागि हाजिर भएपछि आइतबारदेखि सुनुवाइ सुरु भएको थियो ।

अख्तियारले तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनै पदाधिकारीविरुद्ध अनियमितता गरेको आरोपमा रु १० अर्बको विगो माग दाबीसहित विशेष अदालतमा गत जेठ १९ गते मुद्दा दायर गरेको थियो ।

शर्मालाई अख्तियारले पक्राउ गरे पनि सर्वोच्चले साउन अन्तिम साता साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।

अख्तियारले कर फर्छ्योट आयोगमा अनियमितता गरेर कर मिनाहा गरी राज्यलाई करिब रु २१ अर्ब नोक्सानी पुगेको आरोपमा तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई पक्राउ गरेको थियो ।

शर्मासँगै आयोगका दुई सदस्य महत र ढकाललाई पक्राउ गर्न खोजिए पनि फरार रहेका थिए । रासस