
सुदूरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा यु–१६ टोलीका सदस्यद्वय नारायण जोशी र सुबोध ऐरलाई बिहीबार गृहजिल्लामा सम्मान गरिएको हो ।
दुवै खेलाडी धनगढी क्रिकेट एकेडेमीका उत्पादन हुन् । उनीहरु अहिले सुदूरपश्चिाञ्चल एकेडेमीमा छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।
सुदूरपश्चिमाञ्चल एकेडेमीमा आयोजना गरिएको सम्मान कार्यक्रममा खेलाडीद्वय जोशी र ऐरलाई प्रदेश नम्बर–७ का प्रहरी प्रमुख माधव नेपाल र कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले संयुक्तरुपमा सम्मान गरे ।
नेपाल एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको बिजेता बन्नेक्रममा नारायण जोशीको प्रदर्शन महत्वपूर्ण रहेको थियो । प्रतियोगिताका पाँचओटै खेल खेल्न पाएका नारायणले पहिलो अन्तर्राष्ट्रिय ‘डेब्यु’ खेलमा थाइल्यान्डविरुद्ध ५ विकेट लिएका थिए । उनले म्यानमारविरुद्धको खेलमा ४ विकेट लिए ।
सो प्रतियोगिताभर उनले ११ विकेट लिए । ब्याटिङतर्फ फाइनल खेलमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । फाइनलमा २३ बलको सामना गरेका उनले एक छक्का ५ चौकाको मद्दतले अविजित ४६ रनको पारी खेलेका थिए ।
यु–१६ नेपाली क्रिकेट टोलीका अर्का सदस्य सुबोधले दुईओटामात्रै खेल खेल्ने मौका पाएका थिए । उनले फाइनलमा २२ रन बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्