बिहीबार धनगढीस्थित क्षेत्रीय रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक टिमले न्यू बुद्ध युवा क्लब फूलबारीलाई ८–१ को फराकिलो अन्तरले हरायो ।
खेलको १४औं मिनेटमा लक्ष्मण शाहीको गोलबाट अग्रता लिएपनि न्यू बुद्धले सम्हालिन नसक्दा लज्जास्पद हार ब्यहोर्नुपर्यो ।
आयोजक फारवेस्ट पशुपतिको जितमा विदेशी खेलाडी सेगुनले दोहोरो ह्याट्रिक पूरा गरे । उनले खेलको १७औं, ६३औं, ६७औं, ७७औं, ८३औं र ८७औं मिनेटमा गरी व्यक्तिगत ६ गोल गरे । उनी ‘म्यान अफ द म्याच’ घोषित भए ।
यस्तै, रोशन खत्रीले ४३औं र महेश चन्दले ४४औं मिनेटमा गोल गरे ।
सुरुमा तालमेल नमिलेका कारण एक गोल खाएपनि विस्तारै खेल सुधारेर जित आफ्नो पक्षमा पारेको फारवेस्ट पशुपतिका प्रशिक्षक हरि बोहराले बताए । उनले फाइनल खेलका लागि राम्रोसँग तयारी गरिने बताए ।
प्रतियोगिताको उपाधि भिडन्त आयोजक टिम र पीएफए स्पोर्टस् क्लब अत्तरियाबीच शनिबार हुनेछ । पीएफएले बुधबार सुदूरपश्चिम–११ लाई हराएर फाइनल यात्रा तय गरिसकेको छ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले डेढ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्