कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पारस खड्का नेतृत्वको विराटनगरले निर्धारित् २० ओभरमा ६ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको थियो ।
विराटनगरका लागि हङकङ राष्ट्रिय टोलीका खेलाडी अंशुमान रथ र बाबर हयातले पुनः एकपटक शानदार इनिङ्स खेले ।
प्रतियोगितामा व्यक्तिगत दोस्रो अर्धशतक बनाउनेक्रममा अंशुमानले ५७ रनको योगदान गरे । यस्तै, बाबरले हयातले ३६ रन जोडे ।
जवाफमा १५० रनको लक्ष्य पछ्याएको शरद भेषावकर नेतृत्वको भैरहवा १८.३ ओभरमा ११४ रनमा अलआउट भयो । भैरहवाका लागि प्रदीप ऐरी र हरिशंकर शाहले सर्वाधिक १८ रनको योगदान गरे ।
बलिङतर्फ विराटनगरका अभिनाश कर्णले ४ तथा बसन्त रेग्मीले ३ विकेट लिए ।
प्रतियोगितामा लगातार चार खेल जितेको विराटनगर प्लेअफमा छनोट भइसकेको छ । यसअघिका लगातार दुई खेल जितेको भैरहवाको प्रतियोगितामा यो पहिलो हार हो ।
इपीएल क्रिकेटअन्तर्गत् शनिबारै भएको दोस्रो खेलमा ललितपुर प्याट्रियट्सलाई ५ विकेटले हराउँदै चितवन टाइगर्सले पहिलो जित दर्ता गरेको छ ।
ज्ञानेन्द्र मल्ल नेतृत्वको ललितपुरले दिएको १३१ रनको विजय लक्ष्य चितवनले निर्धारित् ओभरको ४ बलअगाडि ५ विकेट गुमाउँदै पूरा गर्यो ।
चितवनका लागि प्रविन गुप्ताले ५६ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले ५५ रनको योगदान गरे ।









प्रतिक्रिया दिनुहोस्