Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


राष्ट्रपतिद्वारा राखेप च्याम्पियनसिपको उद्घाटन


0
Shares

राष्ट्रपति भण्डारीले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई ओलम्पिक टर्च र दुई बाल खेलाडीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरिन् । टर्च हस्तान्तरण लगत्तै केसीले उद्घाटनस्थलमै रहेको ओलम्पिक दीपलाई सोही टर्चबाट प्रज्ज्वलन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सीमित श्रोत र सधानका बावजुद नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशको गौरव अभिबृद्धि गर्दै आइरहेको बताउदै दक्ष खेलाडी उत्पादन गर्न विद्यालय तहदेखि नै खेलकुदको विकासमा ध्यान दिन आवश्यक रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले खेलकुदको विकासमा गठन भएका संस्थाहरु सक्रियतापूर्वक लाग्ने हो भने नेपाली खेलकुद क्षेत्रले पनि आशातित प्रगति हासिल गर्न सक्ने बताउदै खेलकुद शारीरिक, मानसिक र समग्र व्यक्तित्वको विकासका लागि महत्वपूर्ण भएको धारणा व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गरी गुणस्तरीय भौतिक पूर्वाधार विकासमा यथोचित ध्यान दिन जरुरी भएको बताउदै भूकम्पले क्षति पुर्‍याएका पूर्वाधारको पनि पुनः संरचना गर्न अत्ति आवश्यक भएको बताइन् । उनले बालवालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न सरोकारवालाले कार्यक्रम बनाउनु पर्नेमा जोड दिदै राष्ट्रिय गौरव बढाउने खेलाडीको संरक्षण गर्न पनि उत्तिनै आवश्यक भएको बताइन् ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुदमा गरेको लगानीले देशकै प्रतिष्ठा अभिबृद्धि हुने बताउदै कम उमेरका खेलाडीदेखि लगानी गर्न सके भविष्यमा दक्ष खेलाडी उत्पादन गर्न सहज हुने धारणा व्यक्त गरे ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले आगामी एसियाली तथा दक्षिण एसियाली खेलकुदलाई समेत मध्यनजर गरी आयोजना गरिएको च्याम्पियनसिपले बृहत राष्ट्रिय खेलकुद नभएको वर्ष निरन्तरता पाउने बताउदै खेलकुदमा भएका प्रगति र भावी योजना बारे प्रकाश पारेका थिए ।

उद्घाटन अवसरमा च्याम्पियनसिपमा समावेश विभिन्न २९ खेलका राष्ट्रिय संघलाई खेल सामाग्री पनि वितरण गरिएको थियो । सुरुमा हालै राष्ट्रिय खेलको मान्यता पाएको भलिबलका अध्यक्ष मनोरञ्जनरमण शर्मालाई राष्ट्रपति भण्डारीले नै बल हस्तान्तरण गरिन् । बाँकी खेल संघका प्रतिनिधिहरुलाई खेलकुद मन्त्री केसी, खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, सेना प्रमुख राजेन्द्र क्षेत्रीले खेल सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीले देशभक्ति झल्किने गीतमा नृत्य प्रस्तुत गरेका थिए भने मस्कत मयुरले कला प्रस्तुत गरिएको थियो । मयुरलाई च्याम्पियनसिपको लोगोका रुपमा प्रयोग गरिएको छ । त्यस्तै तेक्वान्दो, उसु र करातेका खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

च्याम्पियनसिपमा समावेश २९ खेल मध्ये ट्रायथलन, पौडी, कराते र लनटेनिस सम्पन्न भइसकेका छन् । बाँकी २५ खेल मध्ये स्क्वास सोमबारदेखि सातदोबाटोमा सुरु हुँदैछ । सम्बन्धित राष्ट्रिय संघले सञ्चालन गर्ने प्रतियोगिता उपत्यकालगायत देशको विभिन्न भागमा हुनेछन् । बाँकी २५ खेलमामा १२ खेल मोफसलमा हुनेछ भने अन्य काठमाडौं र ललितपुर केन्द्रीत छ ।

‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद’ नारा दिइएको च्याम्पियनसिपमा २२४९ पुरुष र १७९१ महिला गरी जम्मा ४ हजार ८२ खेलाडी सहभागी छन् । ६१५ स्वर्ण, उत्तिनै रजत र ८९७ कांस्य गरी जम्मा २१२७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिप माघ ९ गतेसम्म चल्नेछ ।