बुधबार कीर्तिपुर मैदानमा भएको पहिलो क्वालिफायर खेलमा भैरहवा ग्ल्याडिएटर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगर फाइनलमा पुगेको हो ।
भैरहवाले दिएको १२८ रनको चुनौती विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
‘म्यान अफ द म्याच’ घोषित हङकङका खेलाडी बाबर हयातले ४४ बलमा ६२ रन बनाए । त्यसैगरी, कप्तान पारस खड्काले २४ बलमा अविजित रहँदै ४२ रन बनाए ।
यसअघि, खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । भारतीय खेलाडी पुनित मिश्राले ३४ बलमा ४९ तथा आरिफ शेखले ३५ बलमा ४६ रन जोडे ।
विराटनगरका लागि करण केसी र श्रीलंकाका खेलाडी सहान अपुहामीले समान २/२ विकेट लिए ।
पराजित भैरहवाले फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायरमा ललितपुर प्याट्रिएट्ससँग खेल्नेछ ।
बुधबारै भएको इलिमिनेटर खेलमा ललितपुरले पोखरा राइनोज्माथि २७ रनको सहज जित हासिल गर्यो ।
पहिले ब्याटिङ गरेको ललितपुरले ५ विकेटको क्षतिमा १३८ रन बनाएको थियो । भारतीय खेलाडी सन्नी पटेलले २६ बलमा अविजित रहँदै ३८ तथा शंकर रानाले ३४ रन बनाए ।
पोखराका लागि पाकिस्तानी खेलाडी इसरुल्लाहले ३ तथा सुसन भारीले २ विकेट लिए ।
जवाफमा कमजोर प्रदर्शन गरेको पोखराले १९ ओभर १ बल क्रिजमा टिकेर १११ रनमात्र बनाउन सक्यो ।
अलराउन्डर इसरुल्लाहले २२ बलमा २५ तथा किशोर महतोले १३ बलमा २३ रन जोडे ।
ललितपुरका लागि सन्दीप लामिछानेले ३ तथा पवन सर्राफ, रशिद खान र सन्नी पटेलले समान २/२ विकेट लिए । यो हारसँगै पोखरा प्रतियोगिताबाट बाहिरिएको छ ।
६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा चितवन टाइगर्स र काठमाडौं किंग्स इलेभेन समूह चरणबाटै बाहिरिएका थिए ।
फाइनल खेल आगामी शनिबार हुनेछ ।









प्रतिक्रिया दिनुहोस्