आयोजकले सार्वजनिक गरेको खेलतालिकाअनुसार पुस २१ गते दिउँसो धनगढी रंगशालामा सुदूरपश्चिम–११ र च्यासलबीच उद्घाटन खेल हुनेछ ।
प्रतियोगितामा च्यासलले पहिलोपटक सहभागिता जनाउन लागेको हो । च्यासललाई ‘ए’ डिभिजनमा पुर्याउनेक्रममा सुदूरपश्चिम–११ का ९ जना खेलाडीहरुले सो क्लबबाट ‘बी’ डिभिजन लिग खेलेका थिए ।
११ दिनसम्म चल्ने दोस्रो संस्करणको प्रतियोगितामा सहभागी १२ टोलीहरुलाई दुई समूहमा विभाजन गरेर खेलतालिका सार्वजनिक गरिएको हो ।
समूह ‘ए’मा आयोजक टिम र च्यासलसँगै सहारा क्लब पोखरा, सशस्त्र प्रहरीको एपीएफ, धरान फुटबल क्लब र संकटा क्लब रहेका छन् ।
समूह ‘बी’मा मनाङ–मर्स्याङ्दी, डुक स्टार भुटान, रुपन्देही–११, थ्रीस्टार क्लब, झापा–११ र त्रिभुवन आर्मी क्लब रहेका छन् ।
चार टोलीले सीधै क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।
समूह ‘ए’बाट सुदूरपश्चिम–११ र च्यासलले सीधै क्वार्टरफाइनलमा स्थान बनाउँदै सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’बाट मनाङ र आर्मी सीधै क्वार्टरफाइनलमा पुगेका छन् ।
सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा यही पुस २१ देखि माघ १ गतेसम्म धनगढीमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित ११ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पाउनेछ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्