१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


राष्ट्रिय ह्यान्डबलमा पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ सशस्त्र प्रहरी च्याम्पियन


0
Shares

पोखरामा शनिबार सम्पन्न १८औं पुरुष ह्यान्डबलको फाइनल खेलमा घरेलु टिम पश्चिमाञ्चल विकास क्षेत्रले त्रिभुवन आर्मी क्लबलाई २९–२५ को गोल अन्तरले पराजित गर्‍यो ।

राष्ट्रिय खेलाडी विशाल बस्नेतको कप्तानीमा पश्चिमाञ्चल मैदानमा उत्रिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिमाञ्चलका हेमन्त थापा घोषित भए ।

त्यसैगरी, पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा सशस्त्रले मध्यमाञ्चल विकास क्षेत्रलाई ६३–२९ को फराकिलो अन्तरले हरायो ।

प्रतियोगितामा आर्मी अनुशासित टिम घोषित भयो । सशस्त्रका दीपकसिंह बोहराले सेमिफाइनल र तेस्रो स्थानका लागि भएको खेलमा गरी ४८ गोल गर्दै सर्वाधिक गोलकर्ता बने ।

शनिबारै पोखरा रंगशालामा सम्पन्न ९औं महिला राष्ट्रिय ह्यान्डबलको फाइनलमा सशस्त्रले आर्मीलाई २४–१५ को अन्तरले पराजित गर्दै उपाधि जित्यो ।

महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा पूर्वाञ्चल विकास क्षेत्रले घरेलु टिम पश्चिमाञ्चललाई १८–१४ को अन्तरले हरायो ।

मध्यपश्चिमाञ्चल विकास क्षेत्र अनुशासित टिम चुनियो । उत्कृष्ट खेलाडी सशस्त्रकी उमा राई घोषित भइन् ।

प्रतियोगिताको सेमिफाइनल र फाइनलमा गरी २८ गोल गरेकी आर्मीकी खेलाडी शान्तिकला राईले सर्वाधिक गोलकर्ताको उपाधि जितिन् ।

विराटनगरमा भएको सातौैं राष्ट्रिय खेलकुदअन्तर्गत् ह्यान्डबलमा पुरुषतर्फ आर्मी र महिलातर्फ सशस्त्रले उपाधि जितेका थिए ।

विजयी टिमलाई निर्वाचित प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारी, नेपाल ह्यान्डबल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष रामकृष्ण केसीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रवेश निःशुल्क रहेको सो प्रतियोगिताको फाइनल खेल हेर्न दर्शकहरुको हालसम्मकै उल्लेखनीयरुपमा सहभागिता रहेको संघले दाबी गरेको छ ।

महिला तथा पुरुषको फाइनल खेल पोखरा रंगशालाको भलिबल प्रशिक्षण केन्द्रको परिसरमा सन्चालन भएको थियो ।