२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


१४ महिनापछि थ्रीस्टारको सुखद् पुनरागमन, झापालाई हरायो


0
Shares

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् सोमबार थ्रीस्टारले झापा–११ लाई ३–१ ले पराजित गरी उत्कृष्ट ‘कमब्याक’ गरेको हो ।

एन्फासँगको विवादका कारण थ्रीस्टारले विगत १४ महिनासम्म कुनैपनि खेल खेलेको थिएन ।

क्षेत्रीय रंगशालामा सोमबार भएको खेलको ३४औं मिनेटमा विदेशी खेलाडी मार्टिनले एक गोल गर्दै थ्रीस्टारलाई सुरुआती अग्रता दिलाएका थिए । ३९औं मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै अग्रता दोब्बर पारे ।

झापा–११ का लागि कर्ण लिम्बूले खेलको ४१औं मिनेटमा एक गोल फर्काए । दर्शकले खचाखच भरिएको रंगशालामा थ्रीस्टारका चेम्जोङले नै खेलको ४३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरी खेललाई ३–१ को अवस्थामा पुर्‍याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन ।

जितसँगै थ्रीस्टार क्वार्टरफाइनलमा प्रवेश गर्‍यो भने झापा प्रतियोगिताबाट बाहिरियो । खेलको ‘म्यान अफ द म्याच’ थ्रीस्टारका चेम्जोङ घोषित भए ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले लामो समयपछि फुटबल खेलमा फर्केको टिमले सुखद् नतिजा दिन सफल भएको बताए ।

यस्तै, झापा–११ का प्रशिक्षक प्रवेश कट्वालले खेलाडीहरुले राम्रै खेले पनि गल्तीका कारण पराजय भोगेको प्रतिक्रिया दिए ।

प्रतियोगिताअन्तर्गत् मंगलबार भुटानको डुक स्टार र रुपन्देही–११ बीच खेल हुने आयोजकले जनाएको छ ।