
जनकपुर । सात दिने ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ ।
भारतको अयोध्याबाट जनकपुर आएका जन्तीलाई आज दिउँसो विशेष कार्यक्रमबीच बिदाई गरिएपछि विवाह पञ्चमी महोत्सव सम्पन्न भएको हो ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोसन दास वैष्णवले जानकी मन्दिरको प्राङ्गणमा लत्ता कपडा, प्रसाद, दक्षिणा दिएर जन्तीको विदाई गरेका हुन् ।
जन्तीमा सहभागी भएका साधु सन्तलाई उनिहरुको मयार्दाक्रम अनुसार दक्षिणा दिइएको थियो । यो परम्परालाई रामकलेवा भनिन्छ ।
रामकलेवामा राम, लक्ष्मण, भरत, शत्रुधन, सीता, उर्मिला, माण्डवी र श्रुतीकृतिलाई एकै ठाउँमा बसाएर खाना खुवाइएपछि महोत्सव सम्पन्न भएको हो ।
खाना खुवाउनका लागि जानकी मन्दिरको प्राङ्गणमा विशेष मण्डप बनाइएको थियो । खाना समयमा नाचगानको कार्यक्रम समेत राखिएको थियो ।
सो अवसरमा स्थानीय संघ संस्थाले लाखौं श्रद्धालुलाई निःशुल्क भोजनको व्यवस्था गरेका थिए ।
यो बर्ष जन्तीका रुपमा भारतको अयोध्यासहित विभिन्न स्थानबाट हजारौं तीर्थालु सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्