
सुदूरपश्चिम–११ स्पोर्टस् क्लब धनगढीले ‘सुदूरपश्चिम महिला खप्तड गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।
मंगलबार धनगढीमा पत्रकार सम्मेलनमार्फत् सो प्रतियोगिताबारे जानकारी गराइएको हो ।
प्रतियोगितामा मुलुकबाहिरका दुईसमेत गरी ८ ओटा टिमको सहभागिता रहने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका वरिष्ठ उपाध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए । उनले प्रतियोगिता हुने मिति छिट्टै सार्वजनिक गरिने बताए ।
प्रतियोगिताको विजेता टिमलाई नगद पाँच लाख र उपविजेतालाई दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
एक लाख ६५ हजार घाटा
पत्रकार सम्मेलनमा हालै सम्पन्न सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको आयव्ययसमेत सार्वजनिक गरियो ।
सो प्रतियोगितामा ९१ लाख ४६ हजार ९१६ रुपैयाँ खर्च भएको क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए ।
प्रतियोगितामा प्रायोजक, टिकटलगायतबाट ८९ लाख ८१ हजार ४०० रुपैयाँ संकलन भएको थियो । प्रतियोगितामा एक लाख ६५ हजार ५१६ रुपैयाँ घाटा भएको महासचिव शाहीले बताए ।
पुस २१ देखि माघ १ गतेसम्म धनगढीमा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आयोजना भएको थियो ।
प्रतियोगिताको विजेता त्रिभुवन आर्मी क्लबलाई ११ लाख ११ हजार १११ र उपविजेता सशस्त्र प्रहरी बलको एपीएफलाई ५ लाख ५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्