२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा


0
Shares

बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन् ।

आगामी महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर र दक्षिण कोरियाले उक्त खेलमा संयुक्त प्रतिस्पर्धा गर्ने भएका हुन् ।

त्यसैले सो खेलमा दक्षिण र उत्तर कोरियाका महिला खेलाडीले संयुक्तरुपमा अभ्यास गर्ने जनाइएको छ ।

दुई कोरियाबीच यस्तो सहभागिता करिब तीन दशकयता पहिलोपटक भएको जनाइएको छ । यसका साथै लामो समयपछि यसरी उत्तर कोरियाली महिला अधिकारी पहिलोपटक दक्षिण कोरिया प्रवेश गरेको पनि जनाइएको छ ।

अर्काे महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकुदमा दुई कोरियाबीच यस्तो सहभागिता हुन लागेको हो ।

उत्तर कोरियाबाट आएका आइस हक्की खेल समूहका ती महिलालाई दक्षिण कोरियाको जिन्चेओनमा रहेको राष्ट्रिय आइस हक्की तालिम केन्द्रमा फूलका गुच्छा दिएर स्वागत गरिएको थियो ।

शीतकालीन ओलम्पिक खेलकुदले उत्तर कोरियाको आणविक सशस्त्र महत्वाकांक्षाको कारण उत्पन्न दुई कोरियाबीचको विगत लामो समयदेखिको शत्रुतापूर्ण सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ ।

आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकुद अधिकारी पठाउन सुरु गरिसकेको पनि जनाइएको छ ।

यसअघि पनि उत्तर कोरियाली सरकारी अधिकारीसहितको एक प्रतिनिधिमन्डल दक्षिण कोरिया पुगेको थियो ।

सो शीतकालीन ओलम्पिक खेलकुदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकाले खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न पनि उत्तरका अधिकारीहरु त्यहाँ गएका छन् ।

चार वर्षयता पहिलोपटक उत्तर कोरियाली सरकारी प्रतिनिधिमन्डल दक्षिण कोरिया प्रवेश गरेको यो नै पहिलोपटक भएको सोलबाट अधिकारीहरुले जानकारी दिएका छन् ।

सो ओलम्पिक खेलकुदमा उत्तर र दक्षिण कोरिया एउटै अथवा संयुक्त झन्डामा सँगसँगै मार्च गर्न पनि असअघि नै सहमत भइसकेका छन् ।

जसले गर्दा आगामी दिनमा पनि यी दुई कोरियाबीचको सम्बन्धमा अहिलेको तुलनामा थप सुधार हुने विश्लेषकहरुको अनुमान छ । रासस/सिन्ह्वा