
-बासुदेव बर्मा/ईमेज:
कपिलबस्तु, असार १४ । १५ गते राष्ट्रिय धान दिवसको दिन कपिलबस्तुको पुरानो सदरमुकाम तथा प्राचिन कपिलबस्तु तिलौराकोटमा ऐतिहासिक धान रोपाई महोत्सव संचालन हुने भएको छ ।
२६ सय बर्ष पहिलेकोे ऐतिहासिक घटनालाई स्मरण गर्दै यस बर्षको धान दिवसमा तिलौराकोटमा ऐतिहासिक धान महोत्सव मनाउने निर्णय गरिएको लुम्बिनी बिकास कोषले जनाएको छ ।
प्राचिन सभ्यता, संस्कृतिको संरक्षण र निरन्तरताका लागी पहिलो पटक यो महोत्सव आयोजना गरिने कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले बताए ।
लुम्बिनी बिकास कोषको आयोजनामा हुने उक्त महोत्सवमा बर्तमान संघीय सरकारका कृषि, भुमि ब्यबस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल बलदेवको प्रमुख आतिथ्यता रहने छ । महोत्सवमा बिभिन्न जातजातीका झांकी, नाचगान एंव नृत्य प्रस्तुत गरिने कोषको सदरमुकाम तौलिहवामा बसेको बैठकमा जनाइएको छ
कपिलबस्तुलाई संघीय सरकारले पनि धानको सुपरजोनको रुपमा घोषणा गरिसकेको अवस्थामा प्राचिन कपिलबस्तुमा धान दिवस र धान महोत्सव हुनु गर्वको बिषय भएको समितीका सदस्य तेजप्रसाद आचार्यले बताए ।
भगवान गौतम बुद्धका पिता राजा शुद्धोधनको राजधानी प्राचिन तिलौराकोटमा ऐतिहासिक समयमा धान खेती गर्ने तौरतरिकालाई झल्को देखिने गरि महोत्सव संचालन हुने महोत्सव मिडिया संयोजक भुपाल थापाले बताए ।
धान दिवसलाई गौरवको पर्व मान्दै कम हुँदै गएको कृषि व्यवसायमा संलग्नलाई प्रोत्साहन गर्न र खेतियोग्य जमिन बाँझो नराख्नको लागि जनचेतना फैलाउने उदेश्य आयोजकको रहेको छ ।
प्राचिन कपिलबस्तुको राजधानी तिलौराकोटमा राजा शुद्धोधनको पालादेखि नेै राजाले सुनको हलोले खेत जोतेर मनसुन सिजनको पहिलो खेती धान रोप्ने प्रचलन रहेको र यस बर्षदेखि सोहि महोत्सवको पुनः सुरुवात गर्न लागिएको लुम्बिनी बिकास कोषका सम्पर्क कार्यालय तिलौराकोटका प्रमुख माधवराज आचार्यले बताए ।
बैठकमा निर्माण ब्यबसायी दिनेश हमाल, शिक्षाबिद् भक्तिराम पन्थी, गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष प्रबिण कुमार श्रीवास्तव, शिवलाल यादव, तुल्सीराम यादव, लक्ष्मी श्रेष्ठ, रामदयाल ठाकुर, लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्