
भक्तपुर मध्यपुरथिमि नगरपालिका–३ कौशलटार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको शनिबार उद्घाटन गर्दै उनले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरे ।
मन्त्री पण्डितले आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी–साधनलाई प्रतिबन्द लगाउने बताउँदै ‘वैशाख १ गतेदेखि हरियो स्टिकर नभएका सवारी–साधन चल्न दिइने छैन, ४५ प्रतिशत हरियो स्टिकर भएका साधनले कालो धुवाँ फाल्छ, अब त्यस्तालाई कारबाही हुन्छ’–भने ।
कालो धुवाँ फाल्ने सवारी–साधनलाईमात्र होइन, त्यस्ता सवारी–साधनलाई हरियो स्टिकर दिएर पास गर्ने कर्मचारीलाईसमेत कारबाही गरिने बताउँदै उनले भने–‘नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई अब प्रतिबन्ध लगाउने र त्यसको विकल्पमा अर्गानिक झोलालाई प्राथमिकता दिइनेछ ।’
मन्त्री पण्डितले वातावरणको ख्याल नगरी कानुन मिच्दै सन्चालनमा आएका इँटाभट्टालाई वातावरणमैत्री बनाउने उल्लेख गर्दै गलत ढंगले सन्चालनमा आएका भट्टालाई कारबाहीको दायरमा ल्याउने तयारी गरेको बताए ।
फोहोर र प्रदूषणका कारण क्यान्सरजन्य रोग बढ्दै गएको बताउँदै उनले अबको एक वर्षमा काठमाडौंमा माक्स लगाएर हिँड्ननपर्ने गरी वातावरण स्वच्छ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री पण्डितले वातावरण प्रदूषण गर्न लागिपरेका केही ठूला होटल, उद्योगलाई कारबाही गरिरहेको र अन्यलाईसमेत कारबाही गरिने पनि बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा प्रदूषण बढ्दा ऐतिहासिक भक्तपुरको पहिचान गुम्दै गएको र रोगको संक्रमण बढ्दै गएकाले यसलाई रोक्न हनुमन्ते सरसरफाइ अभियान सुरु गरिएको बताए ।
भक्तपुर क्षेत्र नम्बर–२ का प्रदेशसभा सदस्य शशीजंग थापाले खोलामा फोहोर फाल्नेलाई कारबाही गर्ने नीति अघि सार्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका संयोजक एवं सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले हनुमन्तेलगायत यस नगरपालिकाका कुनैपनि खोलामा फोहोर फाल्नेलाई नगरपालिकाले जरिवानासहित कारबाही गर्ने बताए ।
शनिबारदेखि सुरु भएको हनुमन्ते सरसफाइ अभियान अब हरेक साता शनिबार सन्चालन हुने भएको छ ।
शनिबारको सरसफाइमा १० ट्रक फोहोर संकलन गरी त्यसको व्यवस्थापन गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्