Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


आज घोडेजात्रा पर्व मनाईंदै, टुंडिखेलमा सेनाले कला प्रदर्शन गर्ने


0
Shares

काठमाडौं, चैत ३ । काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने गरिन्छ ।

उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।

परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ ।

अर्को किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो ।

घोडे जात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिशाच चतुर्दशीका रुपमा समेत लिइन्छ ।

काठमाडौंको टुंडिखेलमा बर्सेनी नेपाली सेनाले घोडेजात्राको आयोजना गर्दछ भने ललितपुरको पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइन्छ ।

घोडेजात्राकै अवसरमा नेपाली सेनाले आज टुंडिखेलमा विशेष कार्यक्रम गर्दै छ । कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीका जवानहरुले घोडादौड तथा अश्वकला प्रदर्शन गर्ने छन् ।

त्यस क्रममा राष्ट्रपति विद्या भण्डारीले उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगिहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।