
जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्कअनुसार ८ महिना यता साना–ठूला गरी ६ ओटा संरक्षित तथा लोपोन्मूख वन्यजन्तु तस्करीका घटना अभिलेख भएका छन् । गौरीशंकर संरक्षण क्षेत्र लक्षित गरी रेड पाण्डाको छाला, सालकको खपटा, मृग, चितुवा, चरी बाघ, दुम्सीका काँडा, ध्वाँसे चितुवा लगायतका संरक्षित वन्यजन्तुको अखेटोपहार तस्करीका घटना बढ्दै गएको दोलखा जिल्लाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
आर्थिक वर्ष २०७४/०७५ को ८ महिनामा मात्रै प्रहरीले संरक्षित तथा लोपोन्मुख बन्यजन्तुहरुको अखेटोपहार तस्करीमा संलग्न १२ जनालाई पक्राउ गर्नुबाट दोलखामा वन्यजन्तु तस्करी बढ्दै गएको पुष्टि हुन गएको संरक्षणकर्मीहरुको भनाइ छ ।
संरक्षित तथा लोपोन्मुख वन्यजन्तु तस्करहरु श्रृंखलाबद्ध रुपमा पक्राउ पर्नुले दोलखा जिल्लाका जंगलहरुमा बन्यजन्तु तस्करहरुको आकर्षण बढ्दै गएको आशंका गर्न थालिएको हो ।
मंगलबारमात्र प्रहरीले २ किलो सालकको खपटासहित भीमेश्वर नगरपालिका–५ का ३३ वर्षीय सन्तोष पौडेललाई शैलुङ गाउँपालिका–८ स्थित चरङ्गे बजारबाट पक्राउ गरेको छ । लोपोन्मुख वन्यजन्तु सालकको अवैध ओसारपसारमा संलग्न पौडेल सालकको खपटा संकलन गरि बिक्रीका लागि काठमाडौँ लैजाने तयारीमा रहँदा प्रहरीको फन्दामा परेका हुन् ।
संरक्षण क्षेत्र आसपासबाट गत फागुन १ मा जीवित मृग ट्रकमा लुकाई सिँगटीतर्फ ल्याउँदै गर्दा ट्रकचालक रुपक बुढाथोकी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसैगरी गत साउन १२ गते भीमेश्वर नगरपालिका–९ का बमबहादुर श्रेष्ठलाई आफ्नै घरमा लुकाई छिपाई राखेको अवस्थामा चितुवाको हड्डी, सुकुटी र दुम्सीका विभिन्न अंगसहित पक्राउ गरेको थियो ।
यस्तै साउन १६ गते भीमेश्वर नगरपालिका–३ मा रहेको शेर्पा होटलबाट साविकको चंखु गाविस–६ का छोती शेर्पालाई दुर्लभ तथा लोपोन्मुख बन्यजन्तु रेडपान्डाको छालासहित पक्राउ गरेको थियो । त्यसको लगत्तै साउन २५ गते नै भीमेश्वर नगरपालिका–५, तामाकोशीबाट शैलुङ गाउँपालिका–१ का लालबहादुर विक र मेलुङ गाउँपालिका–२ का रामबहादुर तामाङलाई संरक्षित वन्यजन्तु चरिबाघको छाला २ थान, ध्वाँसे चितुवाको छाला १ थान र सालकको खपटा डेढ किलोसहित पक्राउ गरी आवश्यक कारवाहीका लागि गौरीशंकर संरक्षण क्षेत्रलाई बुझाइएको प्रहरीले जनाएको छ ।
गौरीशंकर संरक्षण क्षेत्र दोलखाका सम्पर्क अधिकृत अमृत शर्माले हालसम्म वन्यजन्तु तस्करी तथा अन्य प्रकृतिका १३ मुद्दा दायर गरिएकोमा १२ वटाको फैसला भइसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्