२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


‘बलु’ हत्याका मुख्य अभियुक्त पोखराबाट समातिए


0
Shares

प्रहरी कारबाहीमा मारिएका मनोज पुनको योजनामा व्यवसायी पौडेललाई गत पुस २१ गते आफ्नै काठ उद्योगमा बसिरहेका बेला मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए ।

प्रहरीले व्यापारी पौडेल हत्याका मुख्य अभियुक्त सुभाष गुरुङलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ ।

प्रहरीकाअनुसार लमजुङ, बांग्रे गाउँपालिका–५ घर भइ पोखरा–लेखनाथ उपमहानगरपालिका–१०, रामबजार बस्दै आएका अभियुक्त गुरुङलाई पोखराबाटै पक्राउ गरिएको रुपन्देहीका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

हत्याका मुख्य योजनाकार पुनको निर्देशनमा गुरुङले आफ्नै फर्निचर उद्योगमा आगो तापेर बसिरहेका बेला पौडेलको गोली हानी हत्या गरेका थिए ।

हत्याका अभियुक्तमध्ये पदम चौधरी र महेन्द्र भनिने महीनारायण चौधरीलाई यसअघि नै प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दायर गरेको र हाल अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

यस्तै, पौडेल हत्यालगायत विभिन्न आपराधिक घटनाका मुख्य योजनाकार पुन र उनका मुख्य सहयोगी सोमबहादुर आलेको गत फागुन ९ गते प्रहरीसँगको भिडन्तमा मृत्यु भइसकेको छ ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ज्ञवालीले पौडेल हत्यामा संलग्न मुख्य अभियुक्त सबै पक्राउ परिसकेको जानकारी दिँदै मुख्य योजनाकार पुनले आधुनिक सन्चार प्रविधिको प्रयोग गरी गुरुङलाई आपराधिक कार्य गराउन निर्देशन दिने गरेको अनुसन्धानमा देखिएको बताए । रासस