
प्रिटोरिया, वैशाख ७ । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसा मुलुकमा जारी हिंसा उग्र बनेपछि ब्रिटेनमा भइरहेको कमलवेल्थ राष्ट्रको शिखर सम्मेलन छाडेर स्वदेश फर्कने निर्णय गरेका छन् ।
दक्षिण अफ्रिकाको उत्तर पश्चिम प्रान्तमा रोजगारी, आवास र भ्रष्टाचारको अन्त्य माग गर्दै भएको प्रदर्शनमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको हो । प्रदर्शनले हिंसात्मक भएपछि उनी भ्रमण छोट्याएर स्वदेश फर्कन लागेका हुन् ।
गत फेब्रुअरीमा पद सम्हालेका रामापोसाले ब्रिटेनमा रहँदा दक्षिण अफ्रिकामा लगानीका लागि अनुरोध गरेका थिए ।
देशको उत्तर पश्चिम क्षेत्रमा रामापोसाकै सत्तारूढ दल अफ्रिकी नेशनल कंग्रेसका नेता एवं प्रान्तीय सरकार प्रमुखको राजीनामा माग गर्दै गत बुधवारदेखि प्रदर्शन भएको हो । रामापोसाले धैर्य र संयमका लागि सबैलाई अपील गरेका छन् ।
हिंसात्मक प्रदर्शन भएपछि छिमेकी बोत्स्वानाले उत्तर पश्चिम प्रान्तसँगको सीमा बन्द गरेको छ । पूर्वराष्ट्रपति ज्याकोब जुमाबाट सत्ता लिएयता देशको कमजोर अर्थतन्त्र उकास्ने विषय रामापोसाको प्राथमिकतामा रहँदै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्