Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


संघीय संसद्को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदै , के-के छ कार्यसूची ?


0
Shares

काठमाडौं, बैशाख २३ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ ।

यो अधिवेशन बजेट अधिवेशनकारुपमा रहने छ । संसद्को मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु भए पनि यो अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत हुनेछ ।

संसद् सचिवालयका अनुसार आज दुवै सभाका बैठकमा संघीय सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाउने, ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने तथा अधिवेशनअघि जारी भएका चारवटा अध्यादेश प्रस्तुत हुने सम्भावित कार्यसूची छ ।

आजकै बैठकमा आ–आफनो सभासँगसम्बन्धी नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

वैशाख २६ देखि २८ गतेसम्म (प्रि–बजेट) विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त अर्थमन्त्रीद्वारा प्रस्तुत हुने र सभामा छलफल गर्ने सचिवालयले प्रारम्भिक सम्भावित कार्यसूची बनाएको छ ।

अधिवेशनको क्रममा जेठको पहिलो हप्ता राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन समेत हुनेछ ।

संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीले जेठ १५ गते सदनमा सरकारको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नेछन ।